ओखलढुङ्गाः जिल्लाको खिजिदेम्बा गाउँपालिकाले बुहारी पढाउने अभियान थालेको छ । गत आर्थिक वर्षमा ९ विद्यार्थी पढाएको गाउँपालिकाले यस वर्ष पनि शिक्षाको पहुँचमा पुग्न कमजोर आर्थिक अवस्था भएका घरमा बुहारीलाई पढाउन खर्च जोहो गरिदिएको छ ।
यस पटक ४ जना बुहारीलाई जनही ६ हजार छात्रवृत्ति दिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए । विवाह गरेर श्रीमान्को घर पुुगेका महिलालाई आर्थिक अवस्थाका कारण थप शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले यो निर्णय गरेको उनले जनाए । उनका अनुसार यस वर्ष ४ बुहारीलाई गाउँपालिकाले पढाउने भए पनि आगामी दिनमा भने यो शीर्षक अन्तर्गत बजेट छुट्याएर थप बुहारी पढाउने लक्ष्य लिइएको छ ।
गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने, गरीब, जेहेनदार, जनजाति तथा विभिन्न समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरेको गाउँपालिकाको शिक्षा समितिका सदस्य कमल न्यौपानेले जानकारी दिए ।