संखुवासभा : संखुवासभामा भुकम्प पिडितले ५ बर्ष पछि लालपुर्जा पाएका छन् । २०७२ साल बैशाख १२ को भुकम्पले विस्तापित भएका २६ घर परिवार मध्ये १३ परिवारले लालपुर्जा पाएका हुन्् । सिलिचोङ गाँउपालिकाका १३ परिवारलाई जिल्ला आयोजना कार्यान्वयन इकाईले लालपुर्जा वितरण गरेको हो ।

जिल्ला पुनर्निमाण सहजीकरण समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा भुकम्प पिडित १३ परिवारलाई जग्गाको धनी पुर्जा हस्तान्तरण गरिएको हो ।
उनिहरु पहिरोको उच्च जोखिम क्षेत्र सिलिचोङ गाँउपालिका ३ याचम्खा र साप्तेलमा बसोबास गर्दै आएका थिए । आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान) को प्राविधिक सहजीकरणमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको भुकम्प पिडितलाई सिलिचोङ गाँउपालिका वडा नम्बर–३ को मानेडाँडामा स्थानान्तरण गर्न सुरक्षित जग्गा व्यवस्थापन गरिएको हो ।

जिल्ला समन्वय प्रमुख शाक्यले राष्ट्रिय पुनर्निमाण प्राधिकरणले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको जग्गामा एकीकृत बस्तिको अवधारणा अनुरुपको बस्ति विकास गर्नु पर्नेमा जोड दिए ।
जग्गा हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद तुलसी प्रसाद न्यौपानेले केन्द्रीय तहमा आवश्यक पर्ने नीतिगत कुरामा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
इकाईको अनुदानमा जिल्लामा पहिलो पटक १३ जना लाभग्राहीका लागि रु २ लाखका दरले अनुदान रकम दिएर सुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको जिल्ला आयोजना कार्यान्वयन इकाई संखुवासभाका कार्यालय प्रमुख नविन कुमार देवले बताए ।
सरकारले दिएको प्रति परिवार रु २ लाख अनुदानमा लाभग्राहीले रकम थप गरी एकमुष्ट १८ रोपनी जग्गा खरिद गरेका हुन् ।
जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघर रु २ लाख सरकारले अनुदान दिँदै आएको छ । जोखिमयुक्त वस्तीका पीडितले निजी आवास पुनःनिर्माण गर्न पनि रु ३ लाख पाउँनेछन् ।

जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भई थप रु २ लाख अनुदान पाई जग्गा खरिद गरेकाले १० वर्षसम्म घडेरी बेचबिखन गर्न पाइँदैन । तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनःनिर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख नविन कुमार देवले बताए ।