धरानः गत जेठ २९ गते र असार ३ गते धरान उपमहानगरपालिका र टेम्पो व्यवसायी बीच नयाँ भाडादर कायम भयो । तर व्यवसायीले सो भाडादर लागू गरेनन् । जसका लागि मङ्गलबार पुनः बैठक बस्यो र पहिले कायम भएको भाडादर लागू गर्ने सहमति भयो ।
धरान उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र धरानका ५ वटा टेम्पो व्यावसायीबीच मङ्गलबार भएको सर्वपक्षीय छलफले सो निर्णय गरेको हो । पहिल्यै बिनासहमति भाडा तोकिए पनि कार्यान्वयन नभएपछि नयाँ सहमति बनेको हो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिपछि व्यवसायीले आफूखुशी भाडा बढाएका कारण चौतर्फी विरोध भएको थियो । पछि उपमहानगर र व्यवसायीबीच छलफल गरी नयाँ भाडा कायम गरिएको थियो । तर, हालसम्म नयाँ भाडा कार्यान्वयन हुन सकेको थिएन ।
हालै सरकारले सार्वजनिक यातायातका साधनको भाडादर निर्धारण गरेकाले व्यवसायीहरू पहिले नै सहमति गरेको भाडादर लागू गर्न तयार भएका हुन् ।
छलफलमा एक हप्ताभित्र भाडादर लागू गर्ने सहमति बनेको धरान उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले बताए । ‘पहिला पनि एक हप्ताभित्र कार्यान्वयन गर्ने सहमति बनेको थियो । तर, कार्यान्वयन भएन,’ उनले भने ‘अब भने व्यवसायी आफैँले कार्यान्वयन गर्ने सहमति बनेको छ ।’ यदि एक हप्ताभित्र कार्यान्वयनमा आएन भने सरकारले निर्धारण गरेको भाडा लागू हुन्छ ।’
सरकारले निर्धारण गरेको भाडा २० रुपैयाँ रहेकाले पहिल्यै सहमति गरेको भाडा व्यवहारिक भएको समेत उनले बताए । त्यसैले पुरानै सहमति लागू गर्न व्यवसायी तयार भएको उनको भनाइ थियो । पहिले नै निर्णय भए पनि विविध कारणले कार्यान्वयन गर्न नसकिएको धरान बुद्ध यातायात प्रालिका अध्यक्ष रामबहादुर योञ्जनले बताए । अब नयाँ दर टेम्पोमा टाँसेर लागू गरिने उनले बताए ।
‘पहिला नै भाडा कायम भएको हो । तर, लागू गर्न सकिएन,’ उनले भने, ‘आजबाटै हामीले आफ्नो कम्पनीको गाडीमा नयाँ भाडा दर प्रिन्ट गरेर टाँस्दै जसरी पनि लागू गर्ने योजना बनाएका छौँ ।’
दर्ता भएका र दर्ता प्रक्रियामा रहेकाले नियम पालना गर्नेमा आफूहरू ढुक्क रहेको उनले बताए । कतिपय व्यवसायीलाई जानकारी गराउने काम भइरहेको उनले बताए । तर, दर्ता नभएका करिब ६ सय टेम्पोलाई कसरी नियम पालना गराउने भन्ने चुनौती थपिएको उनले बताए ।
दर्ता नभएका टेम्पोबाट नियम उल्लङ्घन हुन सक्ने उनको भनाइ थियो ।
उपमहानगरले जारी गरेको नयाँ भाडा दरमा उल्लेख गरिएअनुसार भानुचोकदेखि बुद्धचोकसम्म १ स्टेण्ड दुरी चढेको १५ रुपैयाँ, दुई स्टेण्ड दुरी चढेको २० रुपैयाँ भाडा तोकिएको छ । त्यस्तै, सोही रुटको बी घोपा २० रुपैयाँ रेल्वेचोक ३० रुपैयाँ र फोकलेण्ड टापुसम्म ३५ रुपैयाँ तोकिएको छ ।
यस्तै, भानुचोकदेखि–कोलेनी, तिनकुने, घोपाक्याम्प र मङ्गलबारेसम्म एक स्टेण्ड दुरी चढेको १५ रुपैयाँ, दुई स्टेण्ड दुरी चढेको २० रुपैयाँ र सो भन्दा बढी दुरीमा २५ रुपैयाँ भाडा दर तोकिएको छ ।
कार्यवाहक नगर प्रमुख मञ्जु सुवेदीको नेतृत्वमा बसेको छलफलमा जिल्ला ट्राफिक प्रहरी प्रमुख होमराज दाहाल, धरान उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा, वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडा सहभागी थिए ।
त्यस्तै, धरान बुद्ध यातायात प्रालिका अध्यक्ष रामबहादुर योञ्जन, धरान टेम्पो यातायात सेवा केन्द्रका अध्यक्ष रामु तामाङ, कोशी संरक्षण केन्द्र प्रालिका अध्यक्ष निलबहादुर कार्की र एकता यातायात प्रालिका अध्यक्ष रामकुमार तामाङलगायत बैठकमा सहभागी थिए ।