इटहरी :चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि अल्छी मान्दै सुतेर समय कटाउँथे । कोही–कोही लुडो, क्यान्डी–क्रस खेलेर, मोबाइलमा फेसबुक हेरेर बेला बिताउँथे ।
इटहरी उपमहानगरपालिका–२ र ३ तालतलैया क्षेत्रका महिलाहरूको दिनचर्या अचेल बदलिएको छ । उनीहरूले कृषि उद्यम महिला समूह गठन गरेका छन् । बेलाबेलामा समूहको बैठक भइरहन्छ ।
बैठकमा सहभागी हुन उनीहरू छिटोछिटो चुलोचौकोको कामबाट निवृत्त हुन्छन् । अल्छी मानेर सुस्ताउने, फेसबुक चलाएर बस्ने समय हुँदैन । लुडो, क्यान्डी–क्रसजस्तो खेलवाडको कुरा त उनीहरूको जीवनबाट हटी नै सक्यो भन्दा पनि हुन्छ ।
समूहमा २५ महिला आबद्ध छन् । समूहको बैठकमा कोही खेतीपाती सम्बन्धी अनुभव बाँड्छन्, कोही निर्णय लेख्छन्, कोही जिम्मेबारी बाँड्फाँट तालिका बनाउँछन् । समय व्यवस्थापनसहित बाली–सूची तयार पार्छन् । खेती र बोटबिरुवाबारे छलफल गर्छन् ।
पहिले अलग–अलग काम गर्ने, घरेलु आवश्यकताअनुसार करेसाबारी गोडमेल गर्ने महिलाहरू अचेल सङ्गठित भएर साझा व्यावसायिक कर्ममा समय लगाउँछन् । उनीहरूले अहिले अभ्यास गरिरहेको साझा व्यावसायिक कर्म हो – सामूहिक खेती । घरको काम सकेर फुर्सद रहेको समय त्यतिकै खेर जाने हुँदा उनीहरूले सामूहिक खेतीमा रमाउने मेसो मिलाएका हुन् ।
तालतलैया कृषि उद्यम महिला समूहले सामूहिक खेतीका लागि वरपरको एक बिघा १७ कठ्ठा जग्गा लिजमा लिएको छ । २०७६माघमा वार्षिक ४० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा १७ कठ्ठा जमिन लिजमा लिएको समूहले भर्खरै थप एक बिघा जमिन लिजमा जोडेको छ ।
यसरी सङ्गठित भएर सामूहिक खेती र उद्यमशीलता विकास गर्न उनीहरूलाई इटहरी उपमहानगरपालिकाले सहजीकरण गरेको हो । उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत इटहरी–२ की वडा सदस्य गंगा गुरुङको पहलमा गठित सो समूहका सदस्यलाई २०७५ माघमा १० दिने उद्यमशील तालिम दिइएको थियो ।तालिममा उपमेयर लक्ष्मी गौतम आफैं सहजकर्ता थिइन् ।
हरेक महिनाको १८ गते समूहको अनिवार्य बैठक बस्ने कार्यतालिका छ । बैठकमा सबैले सय रुपैया ँनियमित बचत गर्ने गरेका छन् । समूहले महिना भरि गरेको कारोबारको हिसाब गर्दा खर्च कटाएर बाँकी रहेको बचत रकम सदस्यले कृषि प्रयोजनका लागि न्यून ब्याजदरमा ऋण लिन पाउँछन् ।
समूहकी सदस्य सीता ढुुङ्गानाका अनुसार समूहमा आबद्ध भएपछि धेरै कुराको सुविधा भएको छ । दुुई वडाका साथीहरूको मेलमिलाप भएको छ । एकले नजानेको अरूले सिकाउँदा धेरै कुरा जानिएको छ ।‘ऋणमै भए पनि समूहबाट सस्तो ब्याजमा पैसा चलाउन पाएका छौं,’ ढुुङ्गाना भन्छिन्, ‘बिस्तारी आम्दानी पनि बढ्दै छ । बजारको माग के रहेछ र कसरी सामान बेच्नुपर्दो रहेछ भन्ने जानकारी पनि हुँदै छ ।’
अग्र्यानिक उत्पादनलाई प्राथमिकतामा राखेको सो समूहले इटहरी बजारमा कृषि उपज बेच्ने गरेको छ । उत्पादन गरेका सामान ठाउँ–ठाउँ लगेर बेच्न सकिने जानकारी भएसँगै आत्मनिर्भरता अनुभव भएको सुनाउँदै समूहकी अर्की सदस्य बालकुमारी लुइटेलले भनिन्, ‘हिजो–अस्ति फोगटिया, बेरोजगारजस्तै भएर बसिरहेका थियौं । समूहमा आइसकेपछि चाहिँ हामीले केही गर्नुपर्ने रहेछ, उद्यमी बन्नुपर्ने रहेछ भन्ने लाग्यो ।’
सो महिला समूहका सदस्यलाई उपमहानगरमातहतको कृषि शाखाका दुई जना महिला कर्मचारी आएर बेर्ना तथा बिरुवाको जगेर्ना गर्नेबारे व्यावहारिक प्रशिक्षणसमेत दिएका छन् । भर्खरै उक्त समूहले बोडी, रामझिँगनी, लौका, काँक्रा र करेलाका उन्नत जातका बिउ उपमहानगरपालिकामार्फत प्राप्त गरेको छ ।
समूहकी सदस्य रेनुका राईका अनुसार उपमेयर लक्ष्मी गौतम पनि बेलाबेलामा समूहले गरेको कामको अनुगमन गर्न आउने गरेकी छन् । त्यसरी अनुगमनमा आएका बेला उपमेयरले समूहका सदस्यहरूलाई उत्पादनमूलक काममा निरन्तर लाग्न र बचत गर्न प्रेरित गर्ने गरेकी छन् ।
समूहको काममा उनीहरूले अहिलेसम्म कुनै जन (समूहबाहिरको कामदार) लगाएका छैनन् । समूहका २५ सदस्यले पालो मिलाएर कामको बाँडफाँट गरेका छन् । मकै छोडाउन उनीहरू आफैं भिडिरहेका छन् ।
तर धेरै मकै हातले छोडाउँदा गाह्रो हुन थाले पछि उनीहरूमा मकै छोडाउने मेसिनको आवश्यकता अनुभव भएको छ । मकै छोडाउने पोर्टेबल मेसिन उपमहानगरपालिकासँग राहतमा माग गर्ने योजना रहेको समूहकी सदस्य रेनुका राईले बताइन् ।
तालतलैया कृषि उद्यम महिला समूहआबद्ध महिलाजस्तै उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत नगर क्षेत्रका पाँच सय महिलालाई उद्यमी बनाउने लक्ष्य रहेको छ । तीन वर्षमा तीन सय महिलालाई उद्यमी बन्ने बाटोमा हिँड्न सहजीकण गरिसकेको उपमहानगरले दुई वर्षभित्र थप दुई सय महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको उपमेयर लक्ष्मी गौतम बताउँछिन् ।
उपमेयर आत्मनिर्भर कार्यक्रमको उद्देश्य सिर्जनशील हातहरू सङ्गठित गर्दै उत्पादन तथा उत्पादनका लागि यान्त्रीकरणमा जोड दिनु रहेको छ ।कार्यक्रमअन्तर्गत गाउँ र सहर केन्द्रित बेग्लाबेग्लै मोडल तथा परियोजनाहरू छन् ।
दूध, तरकारी र माछा–मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएको इटहरी उपमहानगरले सङ्गठित किसानलाई यस कार्यक्रमअन्तर्गत जोड्दै पशु, बिउबिजन, कृषि औजार तथा उपकरणहरू वितरणसमेत गर्दै आएको छ ।
‘व्यवसायी युवालाई आत्मनिर्भर बनाउने पक्षमा नगरपालिका रहेको छ,’ उपमहानगरपालिकामातहत रहेको कृषि शाखाकी निमित्त प्रमुख विमला राईले भनिन्, ‘हामीले कृषिलाई आधुनिकीकरण गर्न यान्त्रीकरणमा विशेष जोड दिएका छौं ।’