इटहरी: सुनसरीको इटहरी चोकलाई इटहरी उपमहानगरपालिकाले पृथ्वीको आकृति सहितको पृथ्वी चोक नाम राख्ने प्रस्ताव बजेटमा ल्याएको छ । इटहरीको मूल चोकलाई इटहरी उपमहानगरपालिकाले २०७७÷७८ को बजेटमा पृथ्वी आकारको स्मारक बनाउने प्रस्ताव गरेको हो ।

पृथ्वीको नक्सामा नेपालको नक्सालाई ठुलो पारेर चोकमा आकृति बनाउन लागिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन । ।

जनआन्दोलनको क्रममा वीरेन्द्रको सालिकलाई २०६२÷०६३ को क्रममा तत्कालीन आन्दोलनकारी विद्यार्थीहरूको समूहले भत्काएका थिए । सालिक भत्काएपछि अहिले उक्त स्थान खाली रहेको छ । सोही ठाउँमा पुनः बिरेन्द्रको सालिक राख्ने भन्दा पृथ्वीको आकारमा नेपालको नक्सालाई ठुलो बनाएर पृथ्वी चोक नै नाम राख्ने गौतम बताउँछिन् ।

उपमहानगरले भने इटहरीको पहिचान झल्काउने भन्दै सो स्थानमा पृथ्वीको स्मारक राखेर पृथ्वी चोक नामकरण गरिने आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरेको हो ।

यस्तै स्वर्गीय पुर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.पि चौकमा शालिक बन्ने, लविपुरमा जननेता मदन भण्डारीका शालिक बनाउने लक्ष्य रहेको इटहरी उपमहानगरले निति लिएको छ ।