बेलबारीः १४ वर्षीया किशोरी रीता कार्की बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्गमा बस्छिन् । घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइमा अवरोध आएपछि उनी फुर्सदको समयमा सफारी चलाएर खर्च जुटाउँथिन् । उनको त्यस्तो अवस्था देखेपछि स्थानीय मिडियाले बारम्बार उनको बारेमा समाचार लेखेपछि बेलबारी नगरपालिकाले उनलाई १० हजार रुपैयाँ सहयोग गर्यो ।

नगरपालिकाले सहयोग गरेको दुई दिन बित्न नपाउँदै बुढीगङ्गा गाउँपालिकाको वडा नम्बर २ निवासी रीता न्यौपानेले बालिकाले पढुञ्जेल किताब, कपी र कलममा लाग्ने खर्च बेहोर्ने घोषणा गरिन् । बुढीगङ्गा–३ मा रहेको स्मृति इङ्लिस स्कुलकी सञ्चालक समेत रहेकी न्यौपानेले बुधबार बेलबारी नगरपालिकामा एक पत्रकार सम्मेलन नै गरेर सो घोषणा गरेकी हुन् ।

उनले पत्रकार सम्मेलनमा आफू पनि गरीब तथा सामान्य परिवारमा जन्मिएर हुर्किएकी हुनाले समस्यामा परेकालाई सहयोग गर्न चाहेको बताइन् । उनी हाल लक्ष्मी मावि बेलबारी–११को कक्षा ९ मा अध्ययनरत छिन् । नगरपालिकाले उपलव्ध गराएको रकम ठूलो नभए पनि उनको पढाइमा यसले सहयोग पुर्याउने आशा गरेको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।

पत्रकार सम्मेलनमा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकुमारी पराजुली, लक्ष्मी माविका प्रधानाध्यापक गोविन्द भण्डारी, सगरमाथा इङ्लिस स्कुलका प्रिन्सिपल इरान राई तथा बालिकाकी आमाको पनि उपस्थिति थियो ।

123 copy