संखुवासभाः अबिरल बर्षासंगै पहिरो जाँदा गए राती संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १ मा ७ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् ।
रातको समयमा पहिरो जाँदा घरमा निदाएका ११ जना वेपत्ता भएको सो गाँउपालिकाका अध्यक्षय रामकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार बिहान ४ बजे पहिरोले  ७ घर बगाउँदा ११ वेपत्ता भएको खबर आउन साथ उद्धारका लागि प्रहरी र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।
प्रहरी नायब निरिक्षक टिकाराम राईको नेतृत्वमा उद्धारका लागि प्रहरीको टोली र गाँउपालिकाको स्वास्थ्य शाखाबाट दिपेन्द्र राईको नेतृत्वमा उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटना स्थल तर्फ लागेका छन् । भारी बर्षा नरोकिएकाले उद्धार र उपचारका लागि खटिएको टोलीलाई समेत कठिनाई भईरहेको बुझिएको छ । बर्षा नरोकिएकाले पहिरो गएका स्थान वरिपरिका क्षेत्रमा पनि थप क्षति पुर्याउने अनुमान गरिएको छ ।
गाँउपालिकाले संभावित पहिरो र बाढीले क्षति गर्ने स्थान छेउ छाउ बस्ने स्थानीयहरुलाई सर्तक रहन र सुरक्षित स्थानमा सर्न समेत आग्रह गरिसकेको छ । पहिरोका कारण भएको नोक्सान र मानविय क्षति बारे पूर्ण विवरण भने आईसकेको छैन् ।