इटहरीः सुनसरी क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद लीलम बस्नेत घुमघाम गर्नमा धेरै सौखिन छन् । नेपाल र भारतका विभिन्न ठाउँहरू घुमेका उनले कार्यव्यस्तताको कारणले धेरै थप देश घुम्न नपाएको बताउँछन् ।

श्रीलंका, माल्दिभ्स र चीनको भ्रमण बस्नेतले गरेका छन । अब समय मिलेमा युरोप भ्रमणमा जाने सोचमा छन् उनी । पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका बस्नेत पछिल्ला तीन वर्षमा तीनवटा देशको भ्रमणमा निस्किउ । तेस्रो देशमा गरेको भ्रमणको अनुभव उनले यसरी सुनाएः

१. श्रीलङ्काः अनुहार, धर्म मिल्ने देश, योजनामा बनेको राजधानी
दुई वर्ष अगाडि मैले पहिलोपटक अवतरण गर्न पाएको देश हो श्रीलङ्का । हामी हिमालयन एयरलाइन्सबाट गएका थियौँ । करिब सात दिन श्रीलङ्काको राजधानी कोलम्बो बस्यौँ । कोलम्बोमा विभिन्न क्षेत्रहरू घुम्यौँ । कोलम्बो योजना बनाएर बनाइएको राजधानी रै’छ । त्यही भएर अत्यन्तै व्यवस्थित र आधुनिक लाग्यो । उपनिवेशिक कालमा राजधानी क्यान्डी भन्ने शहरमा रहेछ । श्रीलङ्काको अनुभवले पनि राजधानी पुरानै शहरमा भन्दा पनि नयाँ स्थानमा बनाउनुपर्ने देखिन्छ ।

श्रीलङ्काको अर्को राम्रो पक्ष भनेको अनुहार र धर्म नेपालीहरूसँग मिल्नु हो । अधिकांश खानपिन, छाला अनि भेषभुषा मिल्ने देखियो । उनीहरू इन्डियन आइटम नै खान्छन् । ७ दिनको यात्रा र अन्य सामान्य खर्च जोड्दा १ लाख रुपैयाँभन्दा कम खर्चमा कोलम्बो घुम्न सकिन्छ । मेरो अनुभव यस्तो छ । पैसा पनि नेपालको भन्दा श्रीलङ्काको सानो (कम मूल्यको) छ ।

२. माल्दिभ्सः टापु नै टापुको देश, एक बोतल पानीको नेपाली ७०० रुपैयाँ
म दुई वर्ष अगाडि नै पुगेको हुँ माल्दिभ्स । कतार एयरवेजबाट माल्दिभ्स पुगेको थिएँ । सयौँ टापुको देश माल्दिभ्समा मैले १० टापुहरू घुमेँ । हामी माल्दिभ्स पुग्न श्रीलङ्कालाई ट्रान्जिट बनाएर गयौँ ।

एक हप्ताको माल्दिभ्स यात्रामा हामीले महँगो दक्षिण एसियाली देशको अनुभूति गर्याँै । एउटा सामान्य रुमको मूल्य नै १०० डलर थियो भने एक बोतल पानीको मूल्य ६ डलर जुन अहिलेको सटही दरले ७०० नेपाली रुपैयाँ हुन आउँछ । समुद्रको फेद हेर्नलाई माल्दिभ्स राम्रो गन्तव्य हो । माल्दिभ्सको माले एयरपोर्ट नै चारैतिर समुद्रले घेरिएको छ ।

समुद्र मुनि नै अवतरण गर्ने खालका पर्यटकीय उडान पनि छन् त्यहाँ । नेपालभन्दा बिल्कुल भिन्न भूगोल, संस्कृति र रहनसहनको अनुभवको लागि माल्दिभ्स राम्रो गन्तव्य हुन सक्छ । आउने जाने खर्च र सामान्य एक हप्ताको भ्रमणको लागि माल्दिभ्स यात्रामा १ लाख हाराहारी खर्च हुन्छ ।

Lilam Basnet

३. चीनः विश्वको आर्थिक राजधानी र नक्कली हङकङको दृश्यावलोकन
म १ वर्ष अगाडि चीनको दोस्रो ठूलो प्रान्त सिचुवानको छेन्दु पुगेको थिएँ । हामी ल्हासा हुँदै त्यहाँ पुगेका थियौँ । चीनमा ११ दिन बसियो । सिचुवान प्रान्तसँगै हामी अर्को छिमेकी प्रान्त पनि पुग्यौँ । मैले नाम याद गर्न सकिनँ । तर, धेरै सुन्दर प्रान्त । त्यहाँ हामीले नक्कली हङकङ देख्न पायौँ । सबै उमेर समूहले आनन्द लिने गन्तव्यहरू चीनका प्रान्तमा हामीले अनुभव ग¥यौँ ।

विश्वको आर्थिक राजधानी र अत्यन्तै सुन्दर आधुनिक तथा प्राकृतिक विकास भएको क्षेत्रको रूपमा मैले चीनलाई बुझेँ । चीनका केही प्रान्त घुम्न, त्यहाँ बस्न, खान र यातायातको सबै खर्च जोड्दा १ लाख हाराहारीमा घुम्न सकिन्छ । यो मेरो निजी अनुभव हो । व्यक्तिगत थप खर्च र सपिङ गर्दा भने धेरै खर्च हुन सक्छ ।