खादँबारी: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिरोले ८ घर बगाएको छ भने ११ जना सम्पकविहीन छन् । बाकीँ ४ जनालाई स्थानीयले जीवितै उद्धार गरेका छन् । 

 पहिरोमा राममान राई, हस्तीकुमारी, एन्जीला, नम्रता, गोरीमाया, प्रकृति, जुद्धबहादुर, उत्तरकुमारी, नरमाया, हर्कधन र आईतमाया राई हराइरहेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई,फुलमाया र भीमबहादुर राईलाई गाँउलेहरुको सहयोगमा  उद्धार गरिएको हो ।

अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । पहिरोले राममान राई, जुद्धबहादुर, माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दिप, भीमबहादुर, शिवधन र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको गाउँ बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्ले बताए । उनीहरु पनि घटनास्थल पुगिसकेका छैनन् । घटनास्थल विकट र सडक सञ्जाल समेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामाग्रीसहित घटनास्थलतर्फ गईरहेका छन् । हिडेर जानु पर्ने भएकाले कम्तिमा १२ सम्म लाग्ने अनुमान गरिएको छ ।

यस्तै पहिरोमा पुरिएर मृत्यु भएका भनिएका स्थानीय मदन राई हृदयघात रोगका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका गरेको छ । मृत्यु भएका राई दम रोग देखि पिडित थिए । उनको घर समेत पहिरोले आदि भाग लगेको छ ।