इटहरीः विवाह गरेको ऋण ७ वर्षसम्म तिर्न नसकेपछि श्रीमान्‌कै सल्लाहमा ६ वर्षअघि सुनसरीकी राधिका राई (नाम परिवर्तन) वैदेशिक रोजगारीमा कुवेत पुगेकी थिइन् । परिवार र श्रीमानकै सल्लाहमा वैदेशिक रोजगारीमा लेवनान भनेर नेपालबाट हिँडे पनि कुवेत पुगेको राईले बताइन् ।

साहु दिनैपच्छिे ऋण उठाउन घरमा आएपछि श्रीमान्‌ले नै ’म बिरामी छु, तिमी पैसा कमाउन विदेश जाऊ’ भनेर सल्लाह गरेर नै वैदेशिक रोजगारीमा गएको राई बताउँछिन् । ‘विवाह गरेको ४ वर्षमा २ बच्चा भए । विवाह गर्दा लागेको ऋण श्रीमान्‌ले तिर्न सकेका थिएनन् । त्यही भएर बुढाकै सल्लाहअनुसार वैदेशिक रोजगारीमा गएको हुँ । ५ वर्ष ९ महिना कुवेतमा काम गर्दा करिब १५ लाख कमाएकी थिएँ’, उनले भनिन्, ‘मैले विदेशमा कमाएर पठाएको पैसाले ऋण तिरेर एउटा घर र २ जना छोरा पढाउन खर्च पुगेको थियो । विदेशमा काम गदै बस्दासम्म श्रीमान्‌सँग अति राम्रो थियो । कोरोनाका कारण समस्या परेपछि घर आउँदै छु् भनेपछि श्रीमान् राम्रो बोल्न छाडे ।’

स्वदेश फर्किने भनेपछि श्रीमान् फोनमा झर्किएर बोल्न थालेको राई बताउँछिन् । परिवारकै ऋण तिर्न र परिवार पाल्नका लागि भनेर वैदेशिक रोजगारीमा जाँदा श्रीमान्‌ले नै यस्तो गर्लान् भनेर कहिल्यै नेसोचेको राईले बताइन् । ‘मैले कुवेतमा कमाएको सबै पैसा श्रीमान्‌कै नाममा पठाएँ । काठमाडौंबाट घर फर्किएपछि श्रीमान्‌ले पराई जस्तो व्यवहार गर्न थालेका छन् । म घरभित्र पस्दा बाहिर निस्किए, मेरो छेउ परेनन् ।’

राईले आफ्नो दुःख पोखिन्, ‘सुरुमा कोरोना भाइरसको संक्रमण छ भनेर तर्किएका होलान् भनेर चुपचाप बसेँ तर विस्तारै मलाई नानाथरी भनेर गाली गर्न थालेपछि मात्र थाहा भयो( श्रीमान् त मसँग तर्किन खोजेका रहेछन् ।’
’सँगै बस्न सकिँदैन भने मैले विदेशमा कमाएको पैसा चाहियो’ भन्दा ’घर बनाउँदा, ऋण तिर्दा सकियो’ भनेर श्रीमान् तर्किन थालेपछि न्यायका लागि माइती नेपालसम्म आएको राईले बताइन् । आफूले कमाएको पैसाले परिवार चल्ने तर श्रीमतीलाई वेश्या ठान्ने श्रीमान्‌सँग आफू पनि बस्न नसक्ने राईको भनाइ छ ।

नुवाकोटकी मनिता तामाङ (नाम परिवर्तन)लाई पनि ओमानबाट फर्किएपछि श्रीमान्‌ले स्वीकार गर्न मानेनन् । ओमानमा हुँदा राम्रै गफ गर्ने श्रीमान्‌ले आफू नेपाल आएपछि शत्रुको जस्तो व्यवहार गर्न थालेको मनिताले गुनासो गरिन् । श्रीमान् र छोराका लागि भनेर पैसा कमाउन वैदेशिक रोजगारीमा गएको मनिताको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा गएका सबै महिला दोस्रो पुरुषसँग बिग्रिँदैनन् । श्रीमान्‌ले मलाई ओमानमा कति पुरुषसँग रात बिताएर आइस् भनेर दोष लगाउन थाले । म घर पुगेपछि श्रीमान्‌ले केके रोग छ होला भनेर छिछि र दूरदूर गरे । अब यस्तो श्रीमान्‌सँग कसरी बस्न सकिन्छ ?’, उनले भनिन्, ‘विदेशमा घरेलु रोजगारीमा काम गरेर फकिर्एका महिलालाई श्रीमान्‌ले मात्र होइन, समाजले पनि बेग्लै दृष्णिकोणले हेर्दाे रहेछ । घरभित्रै र घरबाहिर हिंसामा परेका महिलाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुन्छन् । सबैथोक श्रीमान्‌लाई सम्झिएर आएँ, यस्तो गर्छन् भनेर सोचेकी थिइनँ ।’

श्रीमान्‌ले त यस्तो गरे भने समाजले कस्तो गर्ला भोलिका दिनमा ? भन्ने चिन्ताले पिरोल्न थालेको मनिताको भनाइ छ । ओमानमा कमाएको सबै पैसा हात पारेपछि श्रीमान्‌ले नानाथरी भनेर खेदाउन खोजेको मनिताको आरोप छ ।

‘ओमानमा ५ वर्ष काम गरेर फर्किएँ । कमाएको सबै पैसा श्रीमान्‌को हातमा पठाएँ । तिनै श्रीमान्‌ले अरूसँग सुतेर आएको भनेर गाली गर्दै नानाथरी भने’, उनले भनिन्, ‘श्रीमान्‌ले विदेशबाट फर्किने महिलाले भुँडी बोकेर आइरहेका छन् तेरो पनि भुँडी छ कि भनेर अस्पताल गएर परीक्षण गराउन भने । धेरै वर्ष परिवारको माया नपाएकी एउटी महिलालाई कस्तो भयो होला श्रीमान्‌ले यस्तो भन्दा ?’

५ वर्ष ओमानमा रोजगारी गर्दा करिब १४ लाख रुपैयाँ कमाएर परिवारलाई पठाएको उनको भनाइ छ । उनीहरू हाल महिला आयोगमा न्याय खोज्न धाइरहेको बताउँछन् ।

राधिका र मनिता त समाजमा देखिएका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता धेरै वैदेशिक रोजगारीबाट फर्किएका महिला कामदार सामाजिक र परिवारिक हिसांको सिकार हुने गरेका छन् । ११ प्रतिशतभन्दा बढी घरेलु महिला कामदारको विप्रेषणमा योगदान रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनमा उल्लेख छ ।

विगतमा महिलालाई ३० वर्ष उमेर नपुगे वैदेशिक रोजगारीमा जान दिइँदैन थियो भने अहिले २४ वर्ष पुगेपछि जान पाउँछन् । हाल वैदेशिक रोजगारीमा ११ लाख महिला रहेको सरकारी अनुमान छ । वैदेशिक रोजगारीमा गएकामध्ये करिब ६० प्रतिशत महिला खाडीका देश र मलेसियामा घरेलु काम कार्यरत रहेको सरकारी अनुमान छ ।

दलित, जनजाति, कम पढेलेखेका, एकल महिला, सम्बन्धविच्छेद भएका, श्रीमान्‌ले सौता ल्याएका, बालबच्चाको बोझ भएका, बालबच्चालाई पढाउनकै लागि, बेरोजगार श्रीमान्‌लाई सहयोग गर्नका लागि, घरमा वृद्ध परिवारको स्याहार गर्नुपर्ने र पारिवारिक दायित्व भएका महिला वैदेशिक रोजगारीमा जाने गरेको विभिन्न अध्ययनमा उल्लेख छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, जातिगत हरेक किसिमले पछाडि पारिएका महिलाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् ।

नेपालबाट प्रायस् खाडीमा देशमा जाने महिला घरेलु काममै जाने गरेको पाइन्छ । खाडीका देश र मलेसिया रोजगारीमा गएका धेरै महिला यौन शोषणमा परेर फर्किने गरेका छन् । स्वदेशमा रोजगारीको अवसर र केही गरी खान नसक्ने भएपछि विकल्पमा वैदेशिक रोजगारीमा जाने गरेका पाइन्छ ।

नेपाली महिलाहरू वैदेशिक रोजगारमा जाने भनेको खाडी मुलुकमा हो । खाडीका देशमा धेरैजसो घरेलु कामदारमा जान्छन् । अधिकांश नेपाली महिला धेरै पढेलेखेका छैनन् । उनीहरूको सीप भनेको घरभित्र काम गर्न सक्ने मात्र भएकाले पनि बढी पीडित हुने गरेका रोजगारविज्ञहरूको भनाइ छ । शिलापत्रबाट