इटहरीः देशको आर्थिक समृद्धिको मूल आधार मानिन्छ पर्यटन व्यवसाय । नेपालजस्तो प्राकृतिक रूपले सम्पन्न मुलुकको लागि पर्यटन व्यवसाय आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने देखिन्छ ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुकको लागि पर्यटन प्रवद्र्धन सहज र सरल हुन सक्छ ।मूलभूत रूपमा प्रदेश नं १ मिनी नेपाल मानिन्छ । भौगोलिक रूपमा हिमाल, पहाड र तराईको भूभाग समेटिएको प्रदेश नं १ लाई पर्यटनको उर्वर भूमिको रूपमा लिइन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विश्वकै होचो क्षेत्र केचनाकवलसम्म यसै प्रदेशमा पर्छन् ।
यस प्रदेशमा प्रचुर सम्भावना भएको प्रदेश नं १ का सांसदहरू पनि पर्यटनलाई चासोको रूपमा लिएको पाइन्छ । प्रदेश सांसदहरू आफैँ पनि प्रदेशका मुख्य पर्यटकीय गन्तव्यको भ्रमणमा अग्रसर देखिएका छन् ।
राजीव कोइराला, संसदीय दलका नेता नेपाली काङ्ग्रेस
प्रदेश १ लाई मिनी नेपाल भने पनि हुन्छ । यहाँको पर्यटनको सम्भावनालाई शब्दमा व्याख्या गर्न सकिँदैन । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक हिसाबमा पर्यटन प्रवद्र्धन गर्न सकिने यथेष्ट आधारहरू छन् । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र, हलेसी महादेवदेखि ताप्लेजुङको पाथीभरा देवी सम्मको धार्मिक पर्यटन क्षेत्र यसै प्रदेशमा छन् । जसको प्रवद्र्धन गर्न सके भारतीय पर्यटक आकर्षित गरेर यथेष्ट आम्दानी लिन सकिन्छ । म आफँै पनि यस्ता धार्मिक पीठहरूको भ्रमण गर्ने गर्छु ।
सुनसरीको बर्जु र तालतलैयादेखि झापाको केचनाकवल पनि पर्यटक भित्र्याउने गन्तव्य बन्न सक्छन् । म आफँै प्रकृतिप्रेमी भएकाले पहाडी जिल्लाहरूको भ्रमण बढी गर्ने गर्छु । त्यसमा इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम जिल्ला बढी घुमेको छु । सबैतिरको साझा समस्या भनेको सरकारी पक्षबाट चासो नदिनु नै हो ।
अब प्रदेश सरकारले त्यस विषयमा चासो दिएको खण्डमा प्रदेश नम्बर एक ‘पर्यटन प्रदेश’ बन्ने पक्का छ ।
जयराम यादव, संसदीय दलका नेता, सङ्घीय समाजवादी फोरम नेपाल,
खास गरी प्रदेश सरकारले पर्यटनको विषयमा चासो देखाउन सकेको छैन । म धेरै घुम्न मन पराउने मान्छे हुँ । एउटा मान्छे तब मात्र घुम्न निस्कन्छ जब उसले आफ्नो गन्तव्य सुरक्षित पाउँछ । तर यो सरकारले पर्यटकको लागी सुरक्षित गन्तव्यको निर्माण गर्न सकेको छैन ।
म प्रायः भेडेटार, इलामलगायतका क्षेत्रमा बढी मात्रामा घुम्ने गर्छु । तराईमा गर्मी हुने र पहाडमा शीतल हुने भएकाले पहाडी जिल्लाको यात्रा मेरो बढी नै हुन्छ । मेरो विचारमा विराट राजाको दरबारदेखि ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसीसम्म धार्मिक करिडोर बनाउनुपर्छ ।
सर्वध्वज साँवा, प्रदेश सांसद
म धर्मकर्ममा विश्वास गर्छु । त्यसैले मैले हलेसी महादेवको दर्शन गरेको छु । ताप्लेजुङको पाथीभरादेवीको पनि दर्शन गरिसकेँ । कहिलेकाहीँ रमाइलोको रूपमा भेडेटार, तालतलैया, इलामलगायत स्थानमा जाने गर्छु । खासमा प्रदेश नं १ को पर्यटन क्षेत्र प्रचारको अभावमा खुम्चँदै गएको मेरो बुझाइछ । ताप्लेजुङको फुङफुङ् छाँगा, ह्यात्रुङ झरना र तेह्रथुमको नाउँ डुङ्गा गुफा ओझेलमा परिरहेका छन् । सङ्खुवसभाको सभापोखरीदेखि माइपोखरीसम्म पर्यटक पु¥याउने सम्भावना जीवितै छ । तर त्यसको लागि प्रदेश सरकारले धार्मिक तथा प्राकृतिक पर्यटन करिडोर बनाउनुपर्छ जस्तो लाग्छ ।
विन्द्या कार्की, प्रदेश सांसद
प्रदेश १ का प्रायः सबै जिल्ला घुमिसकेकी छु । लालीगुुराँसको राजधानी मानिएको तेह्रथुम मलाई अत्यन्तै मन पर्ने जिल्ला हो । जहाँ म प्रायः ३ महिनामा पुग्ने गर्छु । इलाम र ताप्लेजुङ पनि एकदमै पर्यटकीय क्षेत्र लाग्छ । इलामको सूर्योदय हुने स्थानको प्रचार गर्न सके विदेशी पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ । संसारकै होचो ताल केचनाकवलदेखि सगरमाथासम्मको रुट बनाउन सके देशी विदेशी पर्यटकले प्रदेश नं १ को विकास र बिस्तार हुने मेरो बुझाइ छ । विराट राजाको दरबार भएको स्थानबाट झापा, मोरङ र सुनसरीका प्रमुख धार्मिक क्षेत्रमा रिङरोड बनाउने हो भने धार्मिक करिडोरको रूपमा विकास गरेर भारतीय पर्यटक भित्र्याउन सहज हुन्छ जस्तो लाग्छ ।