विराटनगरः नेपालका गुगल ब्वाइ भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा सम्मान गरिएको छ ।
रतुवामाई नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा दाहाललाई नगर प्रमुख रविन राई र उप प्रमुख दमयन्तादेवी चुडालले सम्मान गरेका हुन् । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरे तथा रतुवामाई नगरका कर्मचारी र जनप्रतिनिधिले दाहालको स्वागत र सम्मान गरेका थिए ।
कार्यक्रममा आदित्य संरक्षण प्रतिष्ठानका संस्थापक सदस्य उद्धव केसीले गुगल ब्वाइ आदित्य दाहालको बारेमा जानकारी दिँदै उनले २०७१ साल असार ३ गते ज्ञान (आचार्य) प्राप्त गरेको बताए । उनको चमत्कारी ज्ञान तथा सन्देशलाई प्रवाह गर्न आदित्य संरक्षण प्रतिष्ठान गठन गरिएको केसीले प्रष्ट्याए ।
दाहालकै परिकल्पनामा उनको निवासमा त्रिगजुरीय शिवालय मन्दिरको निर्माण भइरहेको पनि उनले जनाए ।
कार्यक्रममा नगर प्रमुख रविन राईले दाहाललाई नगरको अवस्था र भावी योजनाको बारेमा बताएका थिए । दाहालको मामाघरको साइनो नगरसँग जोडिनु नगरको गौरवको विषय भएको उनको भनाइ थियो ।
सो कार्यक्रममा ‘कलियुगको आदित्य ज्योतिपथ’ नामक पुस्तक नगरका प्रमुख र उप प्रमुखलाई दाहालले प्रदान गरेका थिए । कार्यक्रममा दाहालका परिवारका साथै आदित्य संरक्षण प्रतिष्ठानका सदस्यको उपस्थिति थियो ।