इटहरीः गाउँपालिका राष्ट्रिय महासङ्घ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन आज इटहरीमा शुरु हुने भएको छ ।

अधिवेशनका लागि प्रदेशभरका करिब साढे ३ सयको सङ्ख्यामा गाउँपालिकाका प्रतिनिधि इटहरीमा भेला हुने भएका छन् । १ नम्बर प्रदेश गाउँपालिका राष्ट्रिय महासङ्घका संयोजक ताराबहादुर काफ्लेका अनुसार प्रदेशका ८८ वटा गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमध्येबाट १ र वडा सदस्यमध्येबाट १ जना गरी ४ जना प्रतिनिधि कार्यक्रममा आउनेछन् । बिहान १० बजे मुख्यमन्त्री शेरधन राईले अधिवेशन उद्घाटन गर्नेछन् ।

पहिलो दिन महासङ्घको वार्षिक प्रतिवेदन प्रस्तुत हुने अध्यक्ष मण्डल घोषणा हुने भएको छ । दोस्रो दिन नयाँ नेतृत्व चयन गरी प्रदेश नम्बर १ को इटहरी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको अध्यक्ष काफ्लेले जानकारी दिए ।