इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै क्षेत्रको समानुपातिक विकासका लागि सबैको एक आपसमा समन्वय आवश्यक रहेको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले सबै किसिमको सरकारको समन्वय आवश्यक रहेको बताएका हुन् ।
‘विकासमा एकरूपता र संविधान कार्यान्वयनको लागि सबै पालिका र प्रदेश सरकारबीच सङ्गठनात्मक समन्वयको आवश्यकता छ’, राईले भने, ‘सङ्घीयता नै हाम्रो लागि नौलो विषय हो । यसको कार्यान्वयनको लागि सङ्गठनात्मक एकरूपता र सहअस्तित्व कायम राख्न अति आवश्यक छ ।’
मुख्यमन्त्री राईले विश्वमै नभएको तीन तहको सङ्घीयताको प्रयोग नेपालले गरिरहेकाले कार्यान्वयनमा समन्वयको अभाव भएको बताए । नयाँ अभ्यास गर्दै जाँदा सामान्य रूपमा अल्पकालीन सङ्क्रमणकालको चरणमा केही समस्या आए पनि जसरी भए पनि सङ्घीयतालाई कार्यान्वयन गरेरै छाड्ने बताए ।
इटहरीमा २ दिनसम्म चल्ने अधिवेशनमा प्रदेश नम्बर १ का गाउँपालिकाका करिब साढे ३ सय प्रतिनिधि सहभागी भएका छन् । १ नम्बर प्रदेश गाउँपालिका राष्ट्रिय महासङ्घका संयोजक ताराबहादुर काफ्लेका अनुसार प्रदेशका ८८ वटा गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमध्येबाट १ र वडा सदस्यमध्येबाट १ जना गरी ४ जना प्रतिनिधि अधिवेशनमा रहेका छन् ।