इलाम/ छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बताससँग आगन्तुकहरूसँग लुकामारी खेल्न उत्कृष्ट गन्तव्य हो इलाम र पाँचथर सिमानाको छिन्टापु ।

इलामको सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमानाबाट प्राकृतिक सुन्दरताको अनुपम दृश्य हेर्ने अवसर छिन्टापु जानेहरूलाई नै प्राप्त हुन्छ । ३ हजार ६ सय ३६ मिटर अग्लो सन्दकपुरपछिको दोस्रो अग्लो छिन्टापु ३ हजार ३ सय मिटरको उचाइमा रहेको छ । महाभारत पर्वत श्रेणी र सिंहलीला पर्वत श्रेणीलाई छुट्याउने यो क्षेत्र लालीगुराँस, रेडपाण्डा र विभिन्न प्रजातिका पुतलीको अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । छिन्टापुको अर्को आकर्षण भनेको हिमशृंखलाहरूको जीवन्त दृश्यावलोकन हो । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथा लगायतका नेपाल, भारत र भुटानका हिमालशृंखलाहरूलाई नजिकैबाट धीत मरूञ्जेल हेर्न सकिन्छ ।

यतिमात्र होइन सिमानापारिका सिक्किम, दार्जिलिङ र नेपालको इलाम जिल्लाको अधिकांश भूभागका साथै प्रदेश नम्बर १ का अधिकांश जिल्ला छिन्टापु डाँडाबाट देख्न सकिन्छ । लालीगुराँसको निकै ठूलो घना जंगल, रेडपाण्डा, थार, चराचुरुंगी, जडिबुटी र सुन्दर भौगोलिक बनावटको अवलोकन छिन्टापुबाट गर्न सकिन्छ ।

छिन्टापुकै डाँडामा २ वटा सुन्दर पोखरीहरू रहेका छन् । यसले यहाँको सौन्दर्यलाई अभैm थपेको छ । छिन्टापुभन्दा केही तल तालपोखरी, डढेली पोखरी, हाँसपोखरी लगायतका आधा दर्जन पोखरी, छाँगे झर्ना, धप्पर लगायतको दृश्यावलोकनका लागि उत्कृष्ट ठाउँहरू समेत रहेका छन् । छिन्टापु डाँडा नजिकै रहेको तालपोखरीमा पर्ने हिमालको छायाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

बर्खाको समयमा छिनछिनमा मौसम परिर्वतन भइरहने हुनाले सो समयमा पर्यटकहरूले हिमाली दृश्य हेर्न पाउँदैनन् । असोजदेखि चैतसम्मको समयमा छिन्टापुमा हिमाल र लेकाली जीवनशैली हेर्न पर्यटकहरू आउने गरेको स्थानीय बताउँछन् ।

यति धेरै विविधता बोकेको छिन्टापुले भौगोलिक विकटताका कारण अपेक्षीकृत रूपमा विकासमा फड्को मार्न भने सकेको छैन । पर्यटकको सहजताको लागि छिन्टापु डाँडामा गेस्ट हाउस निर्माण गरिए पनि प्रयोगमा नआउँदा जीर्ण बनेको छ । पर्यटन मन्त्रालय मार्फत् निर्माण गरिएको गेस्ट हाउसमा जंगली जनावरको आक्रमणको खतरा भएका कारण पनि जीर्ण बनेको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा छिन्टापुको विकासको लागि भनेर मेची पहाडी क्षेत्र पर्यटन विकास समितिमार्फत् ८ लाख र ०७४÷७५ मा ५ लाख रुपैयाँको लगानीमा पदमार्ग निर्माण भएपछि पर्यटकहरू गुराँसको वन हुँदै छिन्टापु डाँडासम्म पुग्न थालेको मेची पहाडी क्षेत्र पर्यटन विकास समितिका योजना अधिकृत सन्जीव पौडेलले बताए ।

यसरी पुग्न सकिन्छ छिन्टापु
छिन्टापुसम्म जानका लागि हिउँदको समयमा इलामको माइपोखरी हुँदै माइमझुवाको बुधबारे गोरुवालेसम्म गाडीमा गएर २ घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ । तर बर्खाको समयमा भने मुस्किलले बुधबारे बजारसम्म मात्र गाडीमा यात्रा गर्न सकिन्छ । माईपोखरीबाट माइपाताल टप्पु हुँदै सिधै छिन्टापुसम्म पुग्न सकिन्छ भने माईमझुवाकै शेर्पेगाउँ हुँदै पैदल ५ घण्टामा छिन्टापु पुग्न सकिन्छ । माईमझुवालाई इलाम सदरमुकाम–बिब्ल्याँटे–माईपोखरी हुँदै कच्ची मोटरबाटोले जोडेको छ ।

चुचुरोमा पुगेर फर्कनको लागि सहज नभए पनि बाटोमा पाइने गोठहरूमा बस्दै आउन सकिन्छ । गोरुवाले भञ्ज्याङमा सामान्य खान र बस्नको व्यवस्था छ । नयाँ वर्षमा गोरुवाले देखि छिन्टापुको चुचुरोसम्म पुग्ने पर्यटकहरू डाँडैभरी हुने स्थानीय चित्रवीर गुरुङ बताउँछन् ।

butterfly chhintappu (1) chhintappu (2) chhintappu (3) chhintappu (4) chhintappu 2 3 forest way to chhintappu chhintappu home taal pokhari