इटहरीः गाउँपालिका राष्ट्रिय महासङ्घको प्रदेश एकको अध्यक्षमा पुनः ताराबहादुर काफ्ले चयन भएका छन् । उनी मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष हुन् । यसअघि पनि महासङ्घको नेतृत्व काफ्लेले नै गरेका थिए । इटहरीमा शनिबार सम्पन्न महासङ्घको अधिवेशनले काफ्लेकोे नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राई र सचिवमा सुनसरीको बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी चयन भएका छन् ।

शुक्रबार शुरु भएको अधिवेशनमा प्रदेश नम्बर १ का गाउँपालिकाका करिब साढे ३ सय प्रतिनिधि सहभागी भएका थिए ।

अध्यक्ष काफ्लेका अनुसार प्रदेशका ८८ वटा गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमध्येबाट १ र वडा सदस्यमध्येबाट १ जना गरी ४ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका थिए ।