धरानः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार कानुन निर्माण गर्ने चरणमा रहेको बताएका छन् । पर्यटन व्यवसायीहरूको हितमा रहेर कानुनहरू निमाण गर्ने तयारी भएको उनले जनाएका छन् ।
३९ औं विश्व पर्यटन दिवसको अवसरमा धरानमा आइतबार सेछ ट्राभलिङले आयोजना गरेको एक दिवसीय ‘कला कार्यशाला’ कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै सभामुख भण्डारीले त्यसको लागि आवश्यक सुझाव सल्लाह दिन पर्यटनकर्मीहरूलाई आग्रह गरे ।
‘कानुन निर्माण गर्दा पर्यटन व्यावसायीको सल्लाह सुझाब आवश्यक हुन्छ, हामीलाई सल्लाह दिनुस् ।’ प्रदेश सरकार र स्थानीय तह मिलेर १ नम्बर प्रदेशको पर्यटनको विकास गर्नुपर्ने उनले बताए । तयसको लागि कार्यक्रमहरू बनाउन पनि उनले सुझाव दिए ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले धरानको पर्यटनको क्षेत्रको अध्ययन गर्ने काम भइरहेको बताइन् । निजी क्षेत्रलाई पनि सहभागी गराएर पर्यटन क्षेत्रको विकास गरिने उनको भनाइ थियो ।
‘निजी क्षेत्रको सहभागिताबिना पर्यटन फस्टाउँदैन’, उनले भनिन्, ‘राज्यको मात्र लगानीले पर्यटन सम्भव छैन ।’ प्रदेश १ का पर्यटन तथा नागरिक उड्डययन समिति संयोजक भविशकुमार श्रेष्ठले पर्यटनकर्मीहरूको हितको लागि कानुनहरू निर्माण गर्न सभामुखलाई आग्रह गरे । धरानमा पर्यटनको गतिविधि सुस्ताएको उनले बताए ।
धरान पर्यटनको हबको रूपमा रहे पनि यहाँका व्यवसायीहरूले पर्यटनको क्षेत्रमा फड्को मार्न नसकेको श्रेष्ठले बताए । पर्यटनलाई समाजिक रूपमा नभएर व्यावसायिक रूपमा अघि बढाउनुपर्ने सेछ ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले बताइन् ।
‘व्यावसायिक रूपमा पर्यटन व्यवसाय गर्दा दिगो हुन्छ,’ उनले भनिन् । पयर्टन क्षेत्रको विकासको लागि स्थानीय तहले पनि विशेष चासो दिनुपर्ने उनको भनाइ थियो ।