इटहरीः प्रदेश १ का गाउँपालिकाको आधिकारिक साझा संस्था गाउँपालिका राष्ट्रिय महासङ्घले प्रदेशको नाम र राजधानी चाँडो टुङ्गो लगाउन माग गरेको छ । प्रदेश १ का ८८ गाउँपालिकाको साझा संस्था महासङ्घको आज इटहरीमा सम्पन्न पहिलो अधिवेशनपछि यस्तो माग गरिएको हो ।
महासङ्घले जारी गरेको २४ बुँदे इटहरी घोषणापत्रमै राजधानी र नामको टुङ्गो तत्काल लगाउन लिखित माग गरिएको छ । इटहरी घोषणापत्रको १९ औँ बुँदामा प्रदेशको नाम र राजधानीको बारेमा माग गरिएको छ । त्यहाँ भनिएको छ, ‘प्रदेश संसदलाई प्रदेशको नाम र राजधानी छिटो टुङग्याउन अनुरोध गर्दछौँ ।’ प्रदेशको नाम र राजधानी अझैसम्म पनि टुङ्गो नलाग्दा प्रदेशका गतिविधिले स्थायित्व नपाएको गाउँपालिका महासङ्घले बताएको छ ।