इटहरीः तराई भेगमा अभ्यस्त भएकालाई समेत हम्मेहम्मे बनाउने गर्मीले पहाडी तथा हिमाली भेगमा बस्ने मान्छेलाई त असीनपसीन बनाउनु नौलो होइन । यस्तै गर्मीका बीच शुक्रबार प्रदेश गाउँपालिका राष्ट्रिय महासङ्घको प्रदेश १ को अधिवेशन शुरु भयो ।
सो कार्यक्रममा प्रदेशभरका गाउँपालिकाका अध्यक्ष आएका हुनाले सोलुखुम्बुको खुम्बु गाउँपालिकाका अध्यक्ष निमदोेर्जी शेर्पासँग हिमाली गाउँपालिकाका समस्या र सम्भावनाका बारेमा संवाद गर्ने प्रयास भयो । तर, कार्यक्रममा उनी भेटिएनन् । तराईको गर्मी सहन नसकेर उनी कार्यक्रम नै छोडेर निस्किएका रहेछन् ।
‘न गफ गर्न सकिन्छ न बस्न नै । अलेली छलफल गर्न थालेको जिउ नै पसिनाले न्वाएजस्तै भयो’, फोनमा सम्पर्कमा शेर्पाले भने, ‘यो तराईको गर्मी थेग्न नसकेर मा चैँ काठमाडौंतिर लागेँ ।’
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङलाई पनि कतिखेर कार्यक्रम सकेर निस्कौँ भन्ने लागिरह्यो । ‘हौ, के गर्नु ? नआई पनि नहुने । बस्न पनि नसकिने ।’ पसिनाले ल्याफ्फै भिजेका उनले नवनिर्वाचित प्रदेश गाउँपालिका महासङ्घका पधाधिकारीसँग कुरा गर्दै भने, ‘अब देखि कार्यक्रम गर्दा पहाडी इलाकामा गर्ने, नत्र भने हामी आउँदैनौं ।’
कोही होटलमा, कोही गाडीमा
नेम्वाङ र शेर्पाजस्ता धेरै प्रतिनिधि गर्मी थेग्न नसकेर होटलको एसीवाला कोठामा भेटिन्थे । कसैकसैलाई आफैँले ल्याएको गाडीभित्र एसी खोलेर बसेको पनि देखियो ।
तराई क्षेत्रमा बस्ने प्रतिनिधिको लागि त मौसमी वातावरण पाच्य नै थियो । तर हिमाली भेगबाट इटहरीमा आएका गाउँपालिकाका प्रतिनिधिलाई भने उक्त अधिवेशन सकस नै देखिन्थ्यो ।
कार्यक्रममा नभेटिएका धेरैलाई सम्पर्क गरी इटहरीमा भेट्ने प्रस्ताव गर्दा धेरैले आनाकानी गरे । ‘इटहरीमा होइन बरु अलि माथि भेडेटारतिर भेट्ने हो कि ?’