इटहरीः राष्ट्रिय बाल दिवसको अवसरमा इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले सामाजिक सञ्जाल फेसबुकमा ‘लाइभ’ आएर बाल दिवसको शुभकामना दिएकी छन् । नगर बाल सञ्जाल इटहरीले गरेको ‘लाइभ’ कार्यक्रममा बोल्दै उनले कोरोना महामारीले अरु सरह बालबालिकाहरुलाई पनि अप्ठ्यारो परेको बताइन् । ‘पाँच महिना लामो लकडाउनले बालबालिकाहरु विद्यालय जान नपाउने र घर भित्रै बस्नुपर्ने भएकाले उनिहरुलाई समस्या भएको छ’, उप–प्रमुख गौतमले भनिन् । उनले योसँगै बालबालिकाहरुले खेल्न नपाउने, अधिकारको उपभोग गर्न नपाउने भएकाले बालबालिकाहरुमा तानव उत्पन्न भएको बताइन् ।


कोरोना महामीको समयमा बालबालिकाहरुले आफ्ना अधिकार उपभोग गर्न नपाएको तर बाल अधिकार हननका घटना बढ्दै गएको गौतमले बताइन् । सोमवार विहान ८ वजेदेखि फेसबुक ‘लाईभ’मा आएर कुरा गर्दै उनले गत वर्षमा धुमधामले बाल दिवस मनाए पनि यो वर्ष मनाउन नपाएको जानकारी गराइन् । ‘हामी गत वर्षहरु बालबालिका सम्बन्धी विविध कार्यक्रम गथ्यौँ । सप्ताह व्यापी कार्यक्रम गथ्यौँ । यो वर्ष बालबालिकाहरुसँग प्रत्यक्ष रुपमा भेट्ने, बालबालिकाहरुको कुरा सुन्न अवस्था नरहेकाले मैले सामाजिक संजालबाट बालबालिकाहरुको कुरा सुन्न फेसबुक ‘लाइभ’मा जोडिएकि हुँ’, गौतमले भनिन् ।


उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न इटहरी उपमहानगर संधै लागिरहेको र अझ पनि सबै बालबालिकाहरुको समस्या समाधान गर्न नसकिएको भन्दै त्यसको लागि उपमहानगर लागिरहेको जानकारी गराइन् । ‘आजको ‘लाइभ’ कार्यक्रममा म बालबालिकाका गुनासो तथा समस्या सुन्नेछु । म आफैँले ती समस्या समाधान गर्न नसके सिङ्गो इटहरी उपमहानगरले कसरी बालबालिकाको अधिकार सुनिश्चित गर्न सक्छौँ भनेर छलफल गर्ने छौँ’, गौतमले भनिन् ।

सोमवार (आज)राष्ट्रिय बाल दिवस मनाईँदै छ । गत वर्षहरुमा देशभरका विद्यालय, वाल क्लब, बाल संजाल तथा बालबालिकासँग सम्वद्ध निकायहरुले विविध कार्यक्रम गरि बाल दिवस मनाउने गर्थे । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण बाल दिवसको कार्यक्रम भर्चुअल माध्यममा खुम्चिएको छ । भौतिक रुपमा कार्यक्रम गर्दा कोरोना संक्रमण फैलिने भएकाले कार्यक्रम भर्चुअल रुपमा संचालन भएको हो ।