धरानः नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएपछि सार्वजनिक बसहरू बसपार्कमा प्रवेश नगरी भानुचोकमै यात्रु झार्न थालेपछि धरानमा बसपार्क विवाद चर्किएको छ।
सार्वजनिक यातायातका साधनलाई नयाँ स्मार्ट बसपार्कबाटै सञ्चालन गर्नुपर्ने माग गर्दै धरान–८ का वडाध्यक्ष धनबहादुर राईसहित स्थानीयवासी सडकमा उत्रिएपछि बुधबार दिनभरजसो तनावको अवस्था बनेको हो। स्थानीयवासीले लट्ठीसहित सडकमा बसेर भानुचोकबाट सञ्चालन भइरहेका सवारीसाधन रोक्ने प्रयाससमेत गरेका थिए।
बसपार्क सञ्चालनमा आइसकेपछि पनि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले धरानवासीलाई आवतजावतमा असहज भएको भन्दै भानुचोकमा अस्थायी रूपमा यात्रु झार्न पाउने निर्णय गरेपछि विवाद थप चर्किएको वडाध्यक्ष राईको भनाइ छ।
केही दिनयता इटहरीलगायत स्थानबाट आउने सार्वजनिक बसहरू नयाँ बसपार्कमा प्रवेश नगरी सिधै भानुचोकमा पुगेर यात्रु झार्ने तथा यात्रु चढाउने गर्न थालेपछि स्थानीयवासीले त्यसको विरोध गरेका हुन्।
धरान–८ का वडाध्यक्ष राईका अनुसार बसपार्क निर्माणको उद्देश्य नै सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु भएकाले बसपार्कबाटै यातायात सञ्चालन हुनुपर्ने स्थानीयवासीको माग छ।
“जहाँ बसपार्क छ, त्यहीँबाट यातायात सञ्चालन हुनुपर्छ। कार्यवाहक मेयरले मंगलबार आफूखुसी भानुचोकमा अस्थायी रूपमा यात्रु झार्ने निर्णय गरेपछि समस्या आएको हो,” राईले भने।

उनका अनुसार इटहरीबाट आउने बसलाई भानुचोकमा सिधै यात्रु ल्याउने र झार्ने अनुमति दिइएपछि यातायात व्यवसायीले त्यसलाई स्टेन्डकै रूपमा प्रयोग गर्न थालेका छन्।
“इटहरी आउने बसहरूले भानुचोकमा सिधै यात्रु ल्याउने र झार्ने भनेर कार्यवाहकले निर्णय गरिदिएपछि यातायात व्यवसायीले पनि यात्रु झार्ने र चढाउने काम गर्न थाले। त्यसपछि विवाद बढेको हो,” उनले भने।
वडाध्यक्ष राईले यातायात व्यवसायीको समेत मिलेमतोमा नयाँ स्मार्ट बसपार्कलाई असफल बनाउने प्रयास भइरहेको आरोप लगाए। उनले आफूहरूको अडानमा कुनै परिवर्तन नभएको भन्दै बसपार्कबाटै सार्वजनिक यातायात सञ्चालन हुनुपर्ने बताए।
स्थानीयवासीले बुधबार भानुचोक क्षेत्रमा सवारीसाधन रोक्ने प्रयास गरेपछि केही समय झडपको स्थिति समेत सिर्जना भएको थियो। स्थानीयवासी सडकमा लट्ठीसहित उपस्थित भएपछि सुरक्षा निकायले समेत अवस्था नियन्त्रणमा लिन प्रयास गरेको थियो।
१५ दिनका लागि अस्थायी व्यवस्था : कार्यवाहक मेयर
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले भने भानुचोकमा सवारीसाधन सञ्चालन स्थायी व्यवस्था नभएको बताएका छन्।
उनका अनुसार धरानवासीलाई आवतजावतमा सहज बनाउन इटहरीबाट आउने सवारीसाधनलाई १५ दिनसम्म अस्थायी रूपमा भानुचोकमा यात्रु झार्न दिने व्यवस्था गरिएको हो।

“अस्थायी प्रकृतिमा १५ दिनसम्म इटहरीबाट आउने सवारीसाधनले यात्रु झार्ने गरी पालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था गरिएको हो,” बेघाले भने।
उनले नयाँ स्मार्ट बसपार्कबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने विकल्प नरहेको स्पष्ट पार्दै १५ दिनभित्र नगर बस सञ्चालनमा ल्याउने बताए। नगर बस सञ्चालन भएपछि यातायात व्यवस्थापन थप सहज हुने उनको भनाइ छ।
बैठक निष्कर्षविहीन
विवाद समाधानका लागि बुधबार धरान उपमहानगरपालिकामा कार्यवाहक नगर प्रमुख बेघाको उपस्थितिमा सरोकारवालाबीच बैठकसमेत बसेको थियो।
बैठकमा सम्बन्धित वडाका वडाध्यक्ष, यातायात व्यवसायी, बसपार्कका जग्गादाता तथा १५ वटा टोल विकास संस्थाका अध्यक्षहरूको सहभागिता थियो। तर, बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन।

वडाध्यक्ष राईले बैठकपछि पनि आफूहरूको माग कायमै रहेको बताए। उनका अनुसार नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आइसकेपछि सार्वजनिक सवारीसाधनलाई पुनः भानुचोकमा केन्द्रित गर्दा बसपार्क सञ्चालनको उद्देश्य नै प्रभावित हुने भएकाले आफूहरू त्यसको विरोधमा उत्रिनुपरेको हो।
बसपार्क सञ्चालन, भानुचोकमा यात्रु झार्ने अस्थायी व्यवस्था र नगर बस सञ्चालनको विषयमा उपमहानगरपालिका, वडा, यातायात व्यवसायी तथा स्थानीयवासीबीच सहमति जुट्न नसक्दा धरानको सार्वजनिक यातायात व्यवस्थापनको विवाद थप जटिल बन्दै गएको छ।




















