इटहरीः मोरङका विभिन्न स्थानबाट अवैध लागूऔषध ओसारपसारमा संलग्न पाँच जना हिजो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सुनसरीको धरान–९ का ३९ वर्षीय सुवास लामिछाने, पथरीशनिश्चरे–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुर साल्पासिलोछो गाउँपालिका–२ का१९ वर्षीय निराज राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार अभियुक्त लामिछानेलाई विराटनगर १७ मटेरुवाबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनका साथबाट स्पास्मो एक सय ६९ चक्की, डाइलेक्स डिसी २० बोतल, निट्राभेट–१५ चक्की र निट्जाकेयर २० चक्की बरामद गरिएको डीएसपी राईको भनाइ छ । यसैगरी, मोरङको पथरीशनिश्चरे–४ स्थित कल्पना राईको घरबाट पक्राउ परेका अन्य अभियुक्तहरुका साथबाट ब्राउन सुगर छ सय ३० ग्राम, गाँजा ७६ ग्राम, विभिन्न हातहतियारका गोली चार थान, गोलीको खोका एक थान ट्रामाडोल क्याप्सुल ९० थानलगायत खुकुरी, नक तथा नगद बरामद भएको उनले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाउँदै प्रहरीले उनीहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको छ ।