इटहरीः शारीरिक वा मानसिक रुपमा अपाङ्गता भएका वा फरक शारीरिक क्षमता भएकाहरु सरकारको प्राथमिकतामा नपरेको भन्दै चर्को आलोचना हुने गरेको छ । तर, मोरङको सुन्दरहरैँचा नगरपालिकाको हकमा भने यो कुरा ठिक विपरीत छ । नगरपालिकाले वडा वडामा गएर त्यस्ता नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुको साथै परिचयपत्र वितरण गर्न थालेपछि अपाङ्गता भएका नागरिकहरुको मुहारमा खुसी छाएको छ । नगरपालिकाको वडा नम्बर ४ बाँसबारीमा रहेको वडा कार्यालयमा स्वास्थ्य परीक्षण गर्न आएका गछियाका दलबहादुर कार्कीले घर घरमा नै गएर आफूहरुलाई यहाँ ल्याइएकोमा खुसी लागेको बताए । आफैँमा अपाङ्गता भएका उनी घरमै गएर गाडीमा ल्याएर उपचार गरएको र त्यसले आफूलाई थप हौसला मिलेको बताउँछन् ।

उनीजस्तै यहाँ उपचार तथा परिचयपत्र लिन आउने अन्य व्यक्ति पनि यो सेवाबाट खुसी देखिएका छन् । नेपाल अपाङ्ग महिला संघ मोरङकी अध्यक्ष मीना आचार्यले अपाङ्गता भएका व्यक्तिहरु परिवारबाट अपहेलित भएर सरकार तथा विभिन्न निकायबाट सञ्चालन हुने कार्यक्रमबाट वञ्चित भएको जानकारी दिइन् । यो कार्यक्रमले नगरमा रहेका त्यस्ता व्यक्तिहरुलाई सहजता भएको उनको भनाइ छ । ‘परिवारले अपाङ्गता भएका नागरिकहरुलाई नगरपालिका र अन्य ठाउँबाट सञ्चालन भएका कार्यक्रमहरुमा सहभागी नगराएको पाइएको छ सुन्दरहरैँचामा । त्यस्ता व्यक्तिहरुलाई लक्षित गरेर नगरले कार्यक्रम सुरु गरेको छ । माघ ७ गतेबाट सुरु भएको यो कायक्रम एक सतासम्म चल्ने छ’, उनले भनिन् ।

नगरले यहाँका १२ वटै वडा कार्यालयमा यो अभियान सुरु गरेको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए । नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गर्न अति आवश्यक भएकाले यो कार्यक्रमको थालनी गरिएको उनको भनाइ छ । ‘नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गर्न अति आवश्यक भएकाले नगरले १२ वटै वडामा रहेका त्यस्ता व्यक्तिहरुको उपचार गर्न यो कार्यक्रम गरेको छ । त्योसँगै अपाङ्गता भएका व्यक्तिहरुलाई हामीले परिचयपत्र पनि वितरण गरेका छौँ । यो कार्यक्रममा कोही पनि नछुटुन् भनेर हामीले गाडिको व्यवस्था गरेका छौँ । यसले त्यस्ता व्यक्तिहरुलाई अझै सहझ भएको छ’, उनले भने । गत ७ गतेबाट सुरु भएको यो कार्यक्रमा नगरभित्रका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने, उनीहरुलाई परिचयपत्र प्रदान गर्ने र स्वास्थ्य उपचार गर्ने नगरको लक्ष्य रहेको छ । सरकारी तवरबाट भएको यो कार्यक्रमको अपाङ्गताका क्षेत्रका काम गर्ने व्यक्ति तथा संस्थाहरुले प्रशंसा गरेका छन् ।