पुष्पलाल श्रेष्ठको जन्म वि.सं.१९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइला छोराको रुपमा भएको थियो । वि.सं.१९९७ सालमा आफ्नो जेठो दाजुसहित गंगालाल श्रेष्ठ गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न जाँदा पुष्पलाललाई माइला मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तँैले प्रज्वलित गर्नेछस्, निभ्न दिने छैनस् भन्नुभएको थियो र उहाँको कलिलो उमेर १६ वर्षमा त्यो दाजुको भनाइ राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो । वि.सं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ र सूर्यबहादुर भारद्वाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । सम्पूर्ण सदस्यले आफ्नो रगतको प्रतिक्षापत्रमा सही गरेर मात्र पार्टीको सदस्य हुने नियम वनाइयो । २००४ सालमा नेपाली राष्टिय कांग्रेसले नागरिक अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले गर्नुभएको थियो । जनताले गरेको नेपालको पहिलो जनआन्दोलनका रुपमा २००४ सालमा गरिएको आन्दोलनका रुपमा विष्लेशण गरिन्छ । नेपालमा जहाँनिया राणाशासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी भारतको कलकत्ता श्याम बजार वा गोप्य तरिकाबाट गरियो ।

pushpalal shrestha

२००६ साउन ७ अर्थात् सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले २ वर्षसम्म २००८ सम्म महासचिव चलाउनुभयो र सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सवैको मनसपटलमा कम्युनिस्ट भन्ने चिज झल्याकझुलुक पर्न थाल्छ । पुष्पलालले २००५ सालमा कम्युनिस्ट घोषणापत्रको पहिलोचोटी नेपाली अनुवाद गरे । त्यसलगत्तै पुष्पलालले कम्युनिस्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिस्ट घोषणापत्र हो । उनको कम्युनिस्ट पार्टीमा रहेको योगदान अतुलनीय छ । वास्तवमा जनवादको नारा, मौलिकवादी चिन्तनयुक्त गणतन्त्रको नारा, क्रान्तिको दिशानिर्देश गर्ने, द्वन्द्ववादी दृष्टिकोणको विचार विष्लेशण गर्ने सबै कुराको श्रेय क. पुष्पलाललाई जान्छ । २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कलकत्ता श्याम बजारमा भएको हो । त्यही बेला संस्थापक महासचिव क. पुष्पलालले नतृत्व गरेर उहाँसहित ६ जना क.पुष्पलाल, क.नरबहादुर कर्मचार्य, नारायणविलाश जोशी, मोतिदेवी र निरन्जन गोविन्द वैद्य संस्थापकको रुपमा चिनिए ।

२००६ सालपछि नेपाली समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण पनि क.पुष्पलालका कारणले भयो । त्यसभन्दा पहिला धार्मिक कुराले समाजलाइ गाँजेको थियो । ईश्वरले यो पृथ्वी सिर्जना गरेका, जे कुरा हुन्छ ईश्वरका देन वा कृपाका कारणले हुन्छ भन्ने जुन धार्मिक अतिवादी सोच थियो, त्यो सोचभन्दा फरक भौतिकवादी दृष्टिकोणले हेर्न बाध्य पार्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ । पुष्पलाल अतिवादी हुनुहुँदैन, चाहे त्यो जे कुरामा होस भन्ने विचारधारा राख्नुहुन्थ्यो । कम्युनिस्ट पार्टी संगठन, नेता, सिद्धान्त र संघर्षले बनेको प्रगतिशील पार्टी हो र यसको मेरुदण्ड पनि यिनै चिज हुन् भन्ने क. पुष्पलाललाई २००८ सालको पहिलो सम्मेलनबाट महासचिवबाट हटाएर क.मनोमोहन अधिकारीलाई महासचिव बनाइयो । आफूले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आफैँ अल्पमतमा पर्छु भन्ने पुष्पलालले सोचेका पनि थिएनन । उनी अल्पमतमा परेपछि कम्युनिस्ट पार्टी विचार संगठन, सिद्धान्त र संघर्षबाट चल्ने हुनाले सम्पूर्ण दस्तावेज, घोषणापत्र, लेख रचना पुष्पलाालको विचार भएकाले आफू नेतृत्वमा नभएपनि कम्युनिस्ट सिद्धान्त अगाडि बढेको भएर उहाँले चित्त बुझाउने गरेको मानिन्छ ।

२०१० सालको पहिलो महाधिवेशनवाट क.पुष्पलाललाई सबै मिलेर अल्पमतमा फेरि पारियो र तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीच कांग्रेसले नेतृत्व गरेको सरकारले ने.क.पा.लाई प्रतिबन्धसमेत लगायो । २०१५ सालको नेपालको इतिहासकै पहिलो आम निर्वाचनमा ने.क.पा.ले ४ सिट जितेको थियो । २०१५ देखि २०१७ सम्म बीपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ पछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर पञ्चायति व्यवस्था लागु गरेपछि फेरी ने.क.पा.लाइ पञ्चे र राजाले प्रतिबन्ध लगाए ।

त्यस क्रममा केशरजंग रायमाझी समुहले पञ्चायति व्यवस्थाको समर्थन गरेपछि ने.क.पा.फुट्यो र विभाजन भयो । विभाजनपछि झापामा वर्ग शत्रृ सफाया अभियान चलाउदै झापा क्रान्तिमार्फत् ने.क.पा.माले र हालको एमालेको रुप लिएको हो । मनमोहन र पुष्पलालको धार २०४७ सालमा गएर एमाले भयो र एकीकृत भयो । मोहनविक्रम सिंह, निर्मल लामाहरुको नेतृत्वमा विभिन्न समुह ने.क.पा.चौम, मोटो मसाल, ने.क.पा.पातलो मसाल, ने.क.पा.एकता केन्द्र हुँदै हालको माओवादी धार बन्यो । मोहनविक्रम सिंह भने पातलो मसाल बोकेर बसिरहेका छन् । २०१५ सालमा ४ सिट जितेको ने.क.पा.पञ्चायत कालमा विभिन्न आरोह अवरोहका बीच विभाजन भएर पनि तत्कालीन माले र माक्सवादी मिलेर बनेको एमालेले २०४६ सालको जनआन्दोलनपछि ६९ सिट र माओवादीले ९ सिटसहित तेस्रो दल भएको थियो । २०५१ सालको आम निर्वाचन बहिस्कार गरी माओवादीले संसदीय व्यवस्थाको विरोध गरी २०५२ साल फागुन १ गतेदेखि महान जनयुद्धको संखघोष गर्यो । त्यस्तै एमालेले २०५१ सालको आम निर्वाचनमा ८८ सिटसहित पहिलो पार्टी बन्यो र दक्षिण एसियामा नै पहिलो पटक कम्युनिस्ट पार्टीको एकल सरकार गठन गरी निकै लोकप्रियता प्राप्त गरेको हेर्न सकिन्छ । तर यो सरकार जम्मा ९ महिना मात्र टिक्यो । फेरी २०५४ सालमा विभाजित भयो । २०५६ को आम निर्वाचनमा ७० सिटसहित एमाले दोस्रो पार्टी बन्यो ।

२०६२÷०६३ सालको जनआन्दोलनपछि संविधानसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो बन्यो । यस बीचमा कम्युनिस्ट पार्टीबाट क.मनोमोहन, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ बहुमत सिट जित्न सफल भएका थिए । यो कम्युनिस्ट पार्टीको एकता नै नेपालमा कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो सफलता थियो । ५ वर्षका लागि बनाइएको दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार आजसम्म आइपुग्दा तीन वर्ष जसोतसो सरकारको नेतृत्व गरेका के पी ओलीले बारम्वार संसद विघटन गरी अदालतबाट सत्ताच्यूत भएका छन् । कम्युनिष्ट पार्टी विभिन्न गुट समुह मिलेर छियाछिया भएसँगै आजसम्म २००६ देखि २०७८ साउन ६ गतेसम्म आइपुग्दा विभिन्न आरोह र अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ ।

क.पुष्पलालको शक्ति विचार हो । उनका विचारका कारणले कम्युनिस्ट पार्टी अहिलेसम्म जीवित छ । सामान्य नेता आन्दोलनले जन्माउँछ र विशिष्ट नेताले आन्दोलन र विद्रोह जन्माउँछ भन्ने प्रमाण क.पुष्पलाल हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टीको नाम उहाँको योगदानबिना सम्भव थिएन । नेपालमा ने.क.पा.र कम्युनिस्ट आन्दोलनका प्रणेता, श्रेयता र इतिहास पुरुष क.पुष्पलाल हुनुहुन्छ । उहाँलाई नसम्झी कम्युनिस्ट पार्टी सम्झनु अपूरो र साँघुरो रहन्छ ।