273241157_475170187676286_456579042390058154_n

दुई तिहाइको दम्भ देखाउन खोज्दा सत्ता र शक्ति दुवै गुमाएर प्रतिपक्षीको भूमिकामा समेटिएको नेकपा एमाले आसन्न स्थानीय तहको निर्वाचनका लागि जनसमक्ष पेस हुन दम्भ त्याग गरी प्रजातान्त्रिक सँस्कार धारण गर्नैपर्ने बाध्यतामा छ ।
दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर संघीय राजनीतिमा ‘प्रजातन्त्रको हत्यारा’ का रुपमा कुख्याति व्यहोरेको पार्टीलाई पुनः संसदीय व्यवस्थाकै शरणमा आफ्नो राजनीतिक भाग्यको परीक्षा दिनुपर्ने अवस्थामा नियतिले पुर्याइदिएको छ । हिजो अङ्कगणित आफूअनुकूल हुँदा मैमत्त हात्तीजस्तो पेलाहा प्रवृत्ति देखाउने दल अहिले जसोतसो अस्तित्व बचाउनुपर्ने अवस्थाका बीच रक्षात्मक रणनीति लिएर जनअदालतको कठघरामा उभिन पुगेको छ ।

अब भने बल्लतल्ल उसलाई लोकतन्त्रको सुन्दरतम तत्व नागरिक सर्वोच्चता र उत्तरदायी शासनबाहेक अरु केही हुन सक्दैन र यी दुई तत्वलाई बेवास्ता गरे वा कुनै किसिमले यसको मानमर्दन गरे त्यस्तो कार्य आफ्नै पतनको कारण बन्न सक्छ भन्ने चेत पलाएको छ ।

मतदाता नै आफ्नो भाग्यविधाता रहेको तथ्यका अगाडि एमालेले घुँडा टेकेको स्पष्ट संकेत पार्टीका संघीय नेता ईश्वर पोख्रेलले हिजो इटहरीमा आफ्ना कार्यकर्तामाझ व्यक्त गरेको विचारबाट पाउन सकिन्छ । त्यहाँ उनले भनेका थिए, ‘जनताले हामीलाई अडिट गर्छन्, हामी पब्लिक अडिटको सामु उभिनुपर्छ, यस्तो अडिट पैसाको मात्र होइन, व्यवहार तथा अभिव्यक्तिका कुरासँग समेत सम्बन्धित हुन्छ ।’ नेता पोख्रेलको यो अभिव्यक्ति आफैँमा महत्वपूर्ण त हो नै, उनले इटहरीमै आएर यस्तो अभिव्यक्ति दिनु यहाँका एमालेबाट निर्वाचित जनप्रतिनिधिको रवैयाप्रति पार्टी नेतृत्वको असन्तुष्टिको ज्वारभाटा अझ बढी हो ।

P04Mq5dd5ns5tfBoZAQOfjo5olhuBHsKhn5Wg06T

एमालेबाट पाएको टिकटका बलमा चुनाव जितेर इटहरीको स्थानीय सरकारको नेतृत्वमा पुगेका मेयर द्वारिकलाल चौधरीको अलोकप्रिय एवं अमर्यादित छबि समग्र एमाले नेतृत्वकै टाउकोमा भारका रुपमा थोपरिन पुगेको बुझ्न कसैलाई पनि गाह्रो छैन । मेयर चौधरीले आफूलाई सस्तो लोकप्रियताको स्वादमा भुलाउनका लागि पटकपटक मचाउँदै आएका क्षुद्रतम हत्कण्डाबाट पार्टीको छबि धुमिल बन्दै गएको अवस्था नेपथ्यबाट नियालिरहेको नेतृत्व पङ्क्तिले उनकै कारणबाट पार्टीलाई कुनै गम्भीर क्षति नपुगोस् भन्ने उद्देश्यले सुक्ष्म रुपमा उनलाई निर्देशित गरिरहेको आभास नेता पोख्रेलको पछिल्लो अभिव्यक्तिले दिन्छ ।

मेयरका रुपमा निर्वाचित भएयता चौधरीले पटकपटक विवादास्पद हर्कत दोहोर्याइरहेका छन् । आफूलाई कडा प्रश्न गर्ने पत्रकारलाई सार्वजनिक ठाउँमा दुव्र्यवहारदेखि आफ्ना विरुद्ध समाचार लेख्ने पत्रकारलाई साङ्घातिक हमला गर्ने धम्की, कार्यकक्षमै महिला सेवाग्राहीमाथि दुव्र्यवहार, सेवाग्राहीमाथि नगर प्रहरी दुरुपयोग गरी गैरकानूनी रुपमा उपमहानगरपालिका परिसरभित्रै थुनछेक, सार्वजनिक रुपमा महिलाई अपमानित गर्नेगरी ‘रन्डी जिन्दावाद’ को नाराबाजी, आफ्ना विरोधीलाई तह लगाउन सडक विस्तारका नाममा पक्षपातपूर्ण ढङ्गको डोजर आतङ्क तथा समाचार टिप्पणी प्रकाशन गर्ने अनलाइन पोर्टलका प्रबन्ध सम्पादकलाई बिनाकारण ‘मुखमा मुत्ने’ धम्कीसम्म आइपुग्दा मेयर चौधरीको पूरै कार्यकाल विवाद र हत्कण्डाकै बीच लगभग गुज्रिन पुगेको छ ।

भ्रष्टाचारीलाई कारबाही गर्नेजस्ता लोकप्रिय अभिव्यक्ति दिएर आफूलाई जनतासमक्ष सत्पात्रका रुपमा चित्रण गर्ने चौधरीको चेष्टालाई उनकै विरुद्ध महालेखापरीक्षकको कार्यालयले पठाएको बेरुजु असुलउपर गर्नुपर्ने व्यहोरको पत्रले धुलो चटाइदिएको छ । उनको नेतृत्वमा रहेको स्थानीय सरकार राहत वितरणका लागि खरिद गरिएका नुनदेखि चामलसम्ममा घोटाला गर्नमै मग्न रहेको तथ्य बुझ्न महालेखापरीक्षकको कार्यालयले पठाएको बेरुजुको प्रतिवेदन नै पर्याप्त छ । मेयर चौधरी स्वयंले अनियमित रुपमा बैठक भत्ता बुझेको महालेखाको प्रमाणसम्मत कैफियत प्रतिवेदनले त चौधरीलाई मतदातासमक्ष नङ्ग्याई नै दिएको छ । यस प्रकार मेयर चौधरी आर्थिक अनुशासन, प्रशासनिक कार्यसम्पादन, जनसम्पर्क, जनउत्तरदायी शासन तथा मर्यादित सार्वजनिक छबि नियमित गर्ने सवालमा आफ्नै अहङ्कार र पेलाहा मानसिकतासँग हारेका छन् ।

यति मात्र नभई पार्टीको आन्तरिक नेतृत्वले पनि उनको उपस्थितिलाई निरर्थक मान्न थालेको तथ्य जिल्ला अध्यक्षको निर्वाचनमा ८० मतसहित उनले व्यहोरेको लज्जास्पद हारले पुष्टि गरिसकेको अवस्थामा मेयर चौधरीको राजनीति नै संकटमा पर्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन् ।

आफ्नो पार्टीको बफादार सिपाहीका रुपमा विश्वास गरेर नेतृत्वमा पुर्याएको जनप्रतिनिधिको यस्तो क्षुद्र कार्यशैली तथा दयनीय जनआधार देखेर नेता पोख्रेलले दिएको ‘हामीले पब्लिक अडिटमा उभिनुपर्छ’ भन्ने अभिव्यक्तिको आसय सार्वजकि आचरणमा व्यापक कायापलटका साथै विधिको शासनका सामुन्ने नतमस्तक हुन नसके आफूसँगै सम्पूर्ण पार्टी पङ्क्तिको पत्तासाफ हुनसक्ने चेतावनी भएको तथ्य मेयर चौधरीले हृदयङ्गम नगरे भीरबाट लड्न लागेको गोरुलाई देखेर रामराम भन्नुबाहेक अरु कुनै विकल्प न पार्टीसँग हुनेछ, न त मतदातासँग ।

-लेखक सूचना पोर्टल डटकम अनलाइनमा कार्यरत पत्रकार हुन् ।