इटहरीः राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनेको बेला इटहरीका स्थानीय भएको हुनाले केशव कुमार बिष्टले इटहरीले नबिर्सने काम गरे त्यो हो, इटहरी रंगशाला निर्माण ।
एउटै कम्पाउण्ड अर्थात एउटै घेराभित्र १३ प्रकारका खेल खेल्न सकिने इटहरी रंगशाला धेरैको सपना थियो, तर पुरा गर्नेमा इटहरीका भुमिपुत्र केशव कुमार बिष्ट परे ।

रंगशालाको जग्गा लिने क्रममा थुप्रैले आफ्नो आफ्नो ठाउँबाट दवाव दिएका थिए । बिष्ट आफैँ पुर्वाञ्चल खेलकुद विकास समितिको अध्यक्षमा रहँदा पनि कृषि मन्त्रालय मतहतमा रहेको जग्गालाई रंगशाला बनाउन निकै पहल गरे तर राजनितिक खेल अनि कर्मचारी तन्त्रसँग लड्दै गर्दा बल्लतल्ल माधव कुमार नेपाल प्रद्यानमन्त्री भएको बेला इटहरीले उक्त जग्गा रंगशाला बनाउने प्रयोजनका लागि पायो । १६ बिघा जग्गा माग गरिएकोमा साँढे ८ बिघा जग्गा हाल रंगशालाको लागि दिइएको छ भने बाँकी जग्गा पनि आवश्यकता परेका बखत लिन सक्ने गरी सम्झौता गरिएको छ ।

“ म पुर्वाञ्चल खेलकुल विकास समितिको अध्यक्ष हुँदा इटहरीमा खेलकुदका गतिविधि हुने ठाउँ थिएन् । मैले बाँझो जग्गालाई खेलकुदको नाममा ल्याउने पहल शुरु गरेँ । केही साथीहरु र मैलै लविङ गर्यौँ । पछि फोरमका विजय गच्छादार भौतिक विकास मन्त्री भएका बेला क्याविनेटमा लग्यौँ । क्याविनेटमा पनि ढिला भयो पछि आन्दोलननै गरेर दवाव दियौँ र अन्तमा सफल भयौँ । ” बिष्टले सम्झिए ।

IMG_9440

पछि बिष्ट संयोगबस राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भएर ४ बर्षे कार्यकाल बिताए । त्यसैबेला इटहरी रंगशालालाई आवश्यक बजेट विनियोजन गर्न सजिलो भयो । आफैँ पनि खेलकुद क्षेत्रमा भिजेको र जिल्ला स्तरीय भलिवल खेलाडी भएकाले बिष्टले बिभिन्न शिर्षकमा इटहरी रंगशालालाई बजेट छुट्टाउँदै गए । उनकै भाषामा भन्दा एकै शिर्षकमा छुट्टाउँदा धेरै बजेट किन एकै ठाउँमा गयो भनेर बिरोध हुने भएकाले उनले तेक्वान्दो, फुटवल, व्याडमिन्टन जस्ता शिर्षकमा थोरै थोरै गर्दै आफ्नो कार्यकाल भरी ३७ करोड भन्दा धेरै बजेट इटहरीको रंगशालाको लागि निकासा गरेका रहेछन् । हुन त त्यो सबै बजेट सरकारको हो,जुन जनताले तिरेको करबाट जम्मा भएको हुन्छ तर विष्टले यस्तो भुमिका निर्वाह गरे जसले इटहरीका खेलप्रेमीलाई उत्साह दिएको छ अनि आज आफ्नै शहरमा हुने अन्तराष्ट्रि खेलाडी समावेश हुने खेल आनन्दले प्याराफिटमा बसेर हेर्न पाइने भएको छ ।

इटहरी रंगशाला यस्तो रंगशाला हो, त्यहाँ एउटै कम्पाउण्ड भित्र १३ वटा खेलहरु खेल्न सकिन्छन् जुन हिसावले हेर्ने हो भने यो देशकै एक मात्र रंगशालामा पर्छ । अर्को पोखरामा निर्माण गरिएको छ, जहाँ ११ वटा खेलहरु खेल्न सकिन्छ ।त्यसो त उनि राखेपको सदस्य सचिव भएकै बेला नेपालगन्ज , दाङ्ग, लगायतका ठाउँमा पनि रङ्गशाला निर्माणका लागि बजेट छुटाएका थिए ।

इटहरीको यहि रगँशालामा अन्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता समेत सम्पन्न भइसकेको छ, भने सातौँ राष्ट्रिय खेलकुद पनि इटहरी रंगशालाले सम्पन्न गरिसकेको छ । निर्माण गर्नुपर्ने थुप्रै कामहरु छन्, तर रंगशाला कसको हो भन्ने अपनत्व कसैले दिन सकेको छैन् । संरक्षणको अभाव छ, जिल्ला खेलकुद विकास समितिको नाममा रहेको जग्गामा बनेको प्रदेश स्तरको संरचना अहिले केन्द्रलेनै हेरिरहेकाले संरक्षणको अभाव रहेको छ । खेलकुद क्षेत्रका साथीहरु जागरुक भएकाले आफ्नो आफ्नो क्षेत्रमा साथीहरुले काम गरिरहेको बिष्ट बताउँछन् ।

IMG_9435

अहिले पनि आफुले प्रदेश सरकारसँग केही बजेट छुट्टाइदिन र बाँकी रहेका केही आकार दिने काम गर्न पहल भइरहेको बिष्ट बताउँछन् । उनले इटहरी रंगशालालाई प्रदेश स्तरको मान्यता दिन र प्रदेश सरकारको मातहतमा ल्याउनका लागि आवश्यक निर्णयका लागि १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईसंग छलफल गरिसकेको बिष्टले बताए ।

इटहरीमा एउटा रंगशालामात्रै होइन् सिंगो इटहरीलाई नै स्पोर्ट सिटीको रुपमा विकास गर्ने आफ्नो योजना भएता पनि त्यो सपना पुरा हुन नसकेको केशवले सुनाए । स्पोर्टसिटी बन्दा के के फाईदा हुन्छ , त्यो के हो भन्ने एउटा सम्भाव्यता अध्ययनको प्रतिवेदन उपमहानगरपालिकामा बुझाएको भएता पनि त्यसबारेमा नगरले उपेक्षा गरेको उनले बताए ।

स्पोर्ट सिटी बनाउनका लागि आफुले ६ अर्ब रुपैँया बराबरको सहयोग अन्तराष्ट्रिय निकायबाट पाउने आश्वासन पाएको बिष्टले सुनाए । गल्फ, हक्की, तेक्वान्दो गरी ३५ वटा खेल खेल्न सकिने गरी स्पोर्ट सिटी बनाउने आफ्नो परियोजना रहेको जसले शहरलाई स्वस्थ शहर बनाउनका साथै आफ्नो पहिचान बनाउनको लागि सहयोग गर्ने उनको भनाई थियो । भोली सबै नगरबासी र राजनितिक दलहरुको सहमति भए त्यो सम्भव हुने बिष्टले सुनाए ।

IMG_9434

आफनै पहलमा निर्माण गरेको इटहरी रंगशालामा हुन लागेको १२ औँ गौल्डकप फुटबल प्रतियोगिता त्यो पनि नयाँ खालको रंगशालामा भिआईपी प्याराफिटमा बसेर फुटवल हेर्न अवसर यसपाली आउँन लागेकोमा खुसी लागेको खेलप्रेमी बिष्टले प्रदेशपोर्टलसँगको कुराकानीमा बताए ।

यहि चैत्र १९ गते देखि २६ गते सम्म इटहरी रंगशालामा सम्पन्न हुने कन्ट्रोल इटहरी गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजक राष्ट्रिय जागृती क्लवका अनुरोध थापाले बताए । थापाले इटहरीमै प्रदेशकै गौरबको रंगशाला निर्माण गरिदिएर खेलकुदमा इहटरीको नाम उच्च बनाइदिएकोमा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव विष्टलाई धन्यवाद दिए । “ उच्चस्तरिय प्याराफिटमा बसेर अन्तराष्ट्रिय स्तरको खेल हेर्न इटहरीबासीलाई अबसर दिने बिष्ट धन्यवादका पात्र भएको थापाको भनाई थियो ।

प्रथम पुरस्कार राशि ७ लाख र रनरअपलाइ ३ लाख ५० हजार पुरस्कार रहेको यसपालिको खेलमा क्यामरोन र भारत गरी २ वटा देशका अन्तराष्ट्रिय खेलाडी सहित ८ वटा समुहले सहभागिता जनाउने भएका छन् । दैनिक उत्कृष्ट खेलाडीलाई १५ हजार नगद र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई यामाहाको फ्यासिनो स्कुटर समेत पुरस्कारमा दिने आयोजकले बताएका छन् ।