इटहरीः नेपाल मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सम्भावित मौसमजन्य विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार जारी गरेको ‘उच्च सतर्कताका लागि अनुरोध’ सम्बन्धी सूचनामा नेपाल मौसम विज्ञान विभागले २०८३ असोज ६ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने जनाएको हो।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबान हुनसक्ने प्रशासनले जनाएको छ। यस्तै, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

त्यसैगरी, जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ। अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरिएको छ।
प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेको छ। पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत भनिएको छ।
नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिन र सोहीअनुसार आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा नेपाली सेनाको १११४ हटलाइन नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।




















