धरानः धरान नगरपालिका गठनको ऐतिहासीक तथ्यहरुको झलक सहित विविध पक्षहरुका जानकारी मुलक पुस्तक ‘धरान निरुपण’ विहीवार सार्वजनिक गरिएको छ । पुस्तक धरान उपमहानगरपालिकाले प्रकाशित गरेको हो । धरान नगरपालिकाको पहिलो निर्वाचन २०१९ सालमा भएको हो । त्यस बेला देखी हाल सम्मका नगरपालिकाका जनप्रतिनिधिहरुको विवरण सहित धरानको विकास क्रममा भएका तथ्यहरु पुस्तकमा समेटिएका छन् ।

उपमहानगरपालिकाले यस किसिमको पुस्तक पहिलो पटक प्रकाशित गरेको हो । मेयर तिलक राईले पुस्तक प्रकाशनका लागि प्राडा.टंकप्रसाद न्यौपाने, प्राडा.गोपालप्रसाद भण्डारी, प्राडा.राजेन्द्र शर्मा, वरिष्ठ पत्रकार हर्ष सुब्बा र उपमहानगरपालिका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडा रहेको सम्पादक मण्डल गठन गरेका थिए । प्राडा.न्यौपाने पुस्तकका प्रधान सम्पादक छन् । विहीवार आयोजित विदाई ज्ञापन कार्यक्रमका विच मेयर राई र प्राडा न्यौपानेले पुस्तकको विमोचन गरी सार्वजनिक गरेका हुन ।

यसअघि धरानको धार्मिक पक्षहरु समेटिएको पथिक कवि लक्ष्मीप्रसाद आचार्य लिखित पुस्तक ‘देशको माटो देशको ढुङगा’ धरान नगरपालिकाले प्रकाशित गरेको थियो । पूर्व नगर प्रमुख स्वर्गीय ध्यानबहादुर राईको कार्यकालमा पहिलो पटक पर्यटन गाईडको रुपमा ‘धरान एक परिचय’ पुस्तिका सहित अंग्रेजीमा इस्टर्न रिजन टुरिज्म गाइड पुस्तक प्रकाशित भएको थियो । ‘धरान निरुपण’ पुस्तकमा भने धेरै लेखक अनुसन्धाताहरुको लेखहरु समावेश छन् ।

‘धरान निरुपण’मा २६ लेखकका धरानको विविध पक्षका बारेमा लेखिएका खोजमुलक लेखहरु छन् । त्यस्ले धरान नगरपालिका गठन हुनुअघि र हाल सम्मका विकास क्रमका तथ्यहरुहरु बोर जानकारी दिएको छ । विमोचनको अवसरमा प्रधान सम्पादक प्राडा.न्यौपानेले भने ‘मेयर तिलक राईको कार्यकालमा धरानको इतिहासलाई लिपिबद्ध गर्ने महत्वपूर्ण कार्य भएको छ ।’ पुस्तकले सम्पूर्ण विषय समेटन नसकेपनि उपमहानगरपालिकाले धरानको इतिहास, धरानको विकासमा योगदान, भूमिका खेल्दै आएको क्षेत्र, समुदायका बारेमा इतिहास बन्ने तथ्यहरु पुस्तकका रुपमा प्रकाशित गर्ने थालनी भएको बताए ।