इटहरीः मोरङको विराटनगर महानगरपालिका १५ स्थित नेपाल भारत नाका क्षेत्रबाट प्रहरीले १३ वर्षीया बालिकालाई प्रलोभनमा पारी भारततर्फ बेचबिखनका लागि लैजान लागेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यस्थित मुजफ्फरपुर घर भएका २२ वर्षीया हिरा सहनी र बारा घर भएकी उनकी १८ वर्षीया प्रेमिका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुवै अभियुक्तहरुबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरी बताउँछ ।

बिर्तामोडमा डेरा गरी बस्ने सहनीले बाराबाट प्रेमिकालाई बोलाएर पाँच दिनसम्म आफ्नो डेरामा राखेको र त्यस क्रममा सहनीसँग राम्रो चिनजान भएकी ती बालिकालाई लुगा किनिदिएर आकर्षक कामको प्रलोभन देखाउँदै भारत लैजान खोजेको अनुसन्धानले देखाएको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । सीमा नाकामा तैनाथ प्रहरीले सोधे आफ्नो अरु कोही नभएको र दाजु र दिदीसँग भारत जान लागेको बताउन अभियुक्तहरुले बालिकालाई सिकाएको समेत खुल्न आएको ती अधिकारीको भनाइ छ ।