आधुनिक युगको नाममा हाम्रो दैनिकी पनि परिवर्तन भइरहेको छ । खानेकुराप्रति खासै चिन्तित देखिँदैन हाम्रो समाज । बढ्दो व्यस्तताले गर्दा तयारी खाना अर्थात् जङ्क फुडको प्रयोग बढिरहेको छ ।

अधिकांश मानिसको दैनिकी नै तिनै जङ्कफुडमा बित्ने गरेको छ । चट्ट अमिलो पिरो, हेर्दा खाउँखाउँ लाग्ने वस्तुहरूमा आँखा छिटो पुग्ने भएकाले स्वास्थ्यबद्र्धक खानाहरू पछि पर्दै गएका छन् । अनि पोषकतत्वको अभावका कारण विभिन्न रोगहरूबाट ग्रसित बन्दैछ मानव समाज ।

यस्तै, स्वास्थ्यको दृष्टिकोणले अपरिहार्य वस्तु फलफूल पनि हो । फलफूल हाम्रो शरीरका लागि निकै महत्वपूर्ण छ भन्ने थाहा नभएको होइन । तर थाहा भए तापनि कसरी खाने ? कतिखेर खाने ? भन्ने कुराको पर्याप्त ज्ञान नहुँदा विभिन्न जोखिम झेल्नु परेको छ ।

भिटामिन, मिनरल्स र अन्य पोषकतत्वको राम्रो स्रोत भएकाले फलफूल खानु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । हार्वर्ड टि.एच. अमेरिकामा गरिएको एक अध्ययनमा दैनिक ३ पटकभन्दा कम फलफूल खाने मानिसभन्दा दैनिक ५ पटक फलफूल खाने मानिसमा २० प्रतिशतले मुटुको रोग, मुटुमा आकस्मिक झड्का हुने सम्भावना कम देखिएको छ । मौसम अनुसारका फलफूल मिलाएर खाएमा रोग प्रतिरोधात्मक शक्ति बढाउँदै यसले दीर्घ रोग लाग्ने सम्भावना पनि कम गर्ने पाइएको छ ।

यस्ता छन् फलफूलका दीर्घकालीन फाइदाहरू
क) फलफूलमा भिटामिन ए, भिटामिन सी, मिनरल्स पाइनाले शरीर फुर्तिलो र तन्दुरुस्त बनाउँछ ।
ख) फलफूलमा पानीको मात्रा धेरै भएकाले यसले हाम्रो शरीरमा पानीको मात्रा ठिक्क राख्न सहयोग गर्छ ।
ग) फलफूलमा पोटासियम, फाइबर, भिटामिन सी जस्ता पोषक तत्वहरू पनि पाइन्छ ।
घ) फलफूलमा भएको पोटासियमले हाम्रो रक्तचापलाई ठिक्क राख्न मद्दत गर्छ । पोटासियमले मृगौलाको पत्थरीको सम्भावना कम गर्दै हड्डी कमजोर हुनबाट पनि बचाउँछ । (पोटासियम भएका फलफूलहरू, सुन्तला, केरा जस्ता फलपूmल खान सकिन्छ ।)
ङ) फलफूलमा भएको फाइबर (रेसा) ले थोरै खाए पनि अघाएजस्तो महसुस गराउँछ । यसले मुटुको रोग, कब्जियतजस्तो समस्याबाट पनि टाढा राख्छ । यसको लागि स्याउ, अम्बा, अङ्गुरजस्ता फलफूल नताछी खान सकिन्छ ।
च) भिटामिन सीले शरीरको विकासमा मद्दत गर्नुका साथै काटेको वा घाउ भएको ठाउँ निको पार्छ र यसले हाम्रो दाँत र गिजालाई स्वस्थ राख्न पनि मद्दत गर्र्छ ।
छ) फलफूलमा पाइने एन्टिअक्सिडेन्ट (जस्तै फ्लाभिनोइड्स)ले क्यान्सरविरूद्ध लड्ने क्षमता बढाउँछ ।
ज) प्रायः फलफूलमा फ्याट, सोडिएम, क्यालोरी थोरै मात्रामा हुन्छ र यसको उपभोगले तौल कम गर्न पनि मद्दत गर्छ ।
झ) फलफूलमा फोलेट पनि पाइन्छ । गर्भवती महिलाले फोलेट पर्याप्त रूपमा खानुपर्ने हुन्छ । पर्याप्त फोलेट नखाएमा जन्मिने शिशुमा विभिन्न समस्याहरू देखा पर्छन् ।
फलफूल हाम्रो शरीरका लागि निकै फाइदाजनक छ तर फलफूल कतिखेर खाइन्छ भन्ने कुरामा पनि भर पर्छ । उपयुक्त समयमा खाएमा यसबाट फाइदाहरू पाउन सकिन्छ भने गलत समयमा खाँदा विभिन्न असरबाट ग्रसित हुन सकिन्छ ।

कतिखेर खाने फलपूmल
१) बिहान
विहान १ गिलास पानी खाएपछि फलफूल खाँदा उपयुक्त मानिन्छ किनकि बिहान हाम्रो पाचनक्रियाले फलफूलमा भएको चिनीलाई छिटो टुक्र्याउन सक्छ र हाम्रो शरीरमा सबै पोषकतत्वहरू उपलब्ध गराउँछ ।
२) खाना खानेबित्तिकै फलफूल खाएमा अपचहुने र शरीरले आवश्यक पोषक तत्व नपाउने भएकाले खाना खानुभन्दा ३० मिनेट अगाडि वा पछाडि खानु उपयुक्त हुन्छ ।
३) व्यायाम र कसरत गर्नुभन्दा केही समय अघि फलफूल खाएमा कसरत गर्न चाहिने उर्जा र स्वस्थ पोषकतत्व पाइन्छ ।

यस्तो बेलामा फलफूल नखाआँै
१) सुत्न जानुभन्दा केही समय अगाडि फलफूल खाएमा रगतमा भएको चिनीको मात्रा बढ्छ जसले गर्दा निद्रा नलाग्न सक्छ ।
२) फलफूलमा धेरै फाइबर (रेसा) भएकाले ढिलो पच्छ । अझ खानासँगै फलफूल खाएमा पाचनप्रक्रिया ढिलो हुन्छ जसले गर्दा फलफूल हाम्रो शरीरमा धेरै समयसम्म बस्ने भयो र यसरी ‘फरमेन्टेसन’ हुन्छ । फरमेन्टेसन भएमा मुटु पोल्ने, डकार आउने, पखाला लाग्ने जस्ता समस्याहरूले सताउन सक्छ ।
३) मधुमेह भएका मानिसहरूको शरीरले रगतमा भएको चिनीको मात्रा ठीक राख्न पर्याप्त इन्सुलिन बनाउँदैन । रगतमा चिनीको मात्रा धेरै हुन्छ त्यसैले यदि मधुमेह भएका मानिसहरूले कार्बोहाइड्रेट धेरै भएको फलफूल (भुइँकटहर, आँप, केरा आदि) खाएमा रगतमा चिनीको मात्रा झन् बढ्छ र जोखिम हुन्छ । त्यस्तै खाली पेटमा फलफूल खाँदा पनि यस्ता मानिसहरूको रगतमा चिनीको मात्रा धेरै हुन्छ । त्यसकारण मधुमेह भएका मानिसहरूले फलफूल मिलाएर खानुपर्छ ।
४) पेटमा धेरै एसिडिटी (अम्लता) भएका मानिसहरूले धेरै एसीड भएका फलफूल धेरै खानु राम्रो मानिँदैन । यस्ता मानिसले बिहान खाली पेटमा फलफूल खानु हुँदैन । त्यस्तै चिसोजन्य रोग लागेका बिरामीलाई भने चिसो फलफूललाई मनतातो पानीमा भिजाएर खाँदा राम्रो मानिन्छ ।

उपयुक्त फलफूल कसरी छान्ने ?
अचेल बजारमा पाइने फलफूलहरू किन्दा विचार पु¥याउनुपर्छ । किनकि अचेल फलफूलहरूमा विभिन्न रासायनिक वस्तु हालेर छिटो खान मिल्ने बनाउँछन् । जस्तै आँप, केरा आदिमा यस्तो पदार्थ हालेको पाइन्छ । यस्ता फलफूल खाएमा स्वास्थ्यमा गडबड हुन्छ । त्यस्तै स्याउमा बाहिर वाक्सिङ गरेको पाइन्छ त्यस्तो स्याउ खानु भएन । यसकारण फलफूल छान्ने कुरामा ध्यान दिनुपर्छ ।

त्यसकारण फलफूलहरू ल्याउनेबित्तिकै खाने भन्दा पनि मनतातो पानीमा एकछिन डुबाएर खाँदा राम्रो मानिन्छ । पाक्ने फलफूलहरूलाई भने काँचो फलफूल किनेर घरमै पकाएर खान सकिन्छ ।

(लेखक पाेषण विज्ञानका विद्यार्थी हुन)