भोजपुरः भोजपुरमा नेत्रविक्रम चन्द समूह विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी जवान र विप्लवका कार्यकर्ता गरी २ जनाको ज्यान गएको छ ।

आज बुधबार बिहान ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत् प्रहरी जवान सञ्जीव राईलाई गोली हानेका हुन् ।

जवाफमा विप्लव कार्यकर्ता निरकुमार राईलाई पनि गोली लागेको थियो । भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सञ्जीव र विप्लव कार्यकर्ता निरकुमार राई दुवै जनाको केही बेरअघि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले पुष्टि गरेका छन् ।

खोटाङ जिल्ला घर भएका सञ्जीव प्रहरीको घुमुवा हुन् । लगातार वर्षात् भइरहेकाले अनुसन्धान कार्यमा बाधा पुगिरहेको प्रहरीले जनाएको छ । घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।