इटहरीः विश्व प्रसिद्ध जापानी लेखक हारुकि मुराकामी देखी सन २००६ को नोबेल साहित्य पुरस्कार प्राप्त टर्किस लेखक ओरान पामुख उपस्थित हुने कार्यक्रममा नेपालबाट कविहरू अभि सुवेदी र सुमन पोखरेल सहभागी हुने भएका छन् ।

आगामी सेप्टेम्बर ४ देखी ६ अर्थात् भदौ १८, १९ र २० सम्म काजकिस्तानको राजधानी नुर सुल्तानमा हुने कार्यक्रममा सुवेदी र पोखरेलले सहभागिता जनाउने भएका छन् ।

कार्यक्रमको लागी सुवेदी र पोखरेल भदौ १७ गते मंगरबार बिहान टर्किस एयरलाइन्सबाट काजकिस्तान जाने भएका छन् । सहभागी कवि सुमन पोखरेलका अनुसार नेपाल देखी काजकिस्तान सिधा हवाई रुट नभएकाले टर्कीको इस्तानबुल ट्रान्जिट बनाएर ११ घण्टाको यात्रा पछि काजकिस्तानको कार्यक्रममा पुगिनेछ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुल करिब ८ घण्टामा पुग्छौँ’, सन २०१३ र १५ मा दुई सार्क साहित्य पुरस्कार समेत पाएका कवि पोखरेलले भने,‘त्यहाँबाट काजकिस्तानको राजधानी नुर सुल्तान ३ घण्टा गरेर ११ घण्टामा हामी कार्यक्रम स्थलमा पुग्ने हाम्रो तालिका रहेको छ ।’

केन्द्रीय एसियाली देश काजकिस्तानमा आयोजना हुने ‘एसियाली देशका लेखकहरूको पहिलो मञ्च’ नामक कार्यक्रममा सुवेदी र पोखरेल सहभागी हुने भएका छन् । उनीहरू दक्षिण एसियाको प्रतिनिधित्व गर्दै मञ्चमा सहभागी हुने भएका छन् ।

सन १९९७ को बुकर पुरस्कार विजेता भारतीय लेखक अरुन्धती रोयसँगै सुवेदी र पोखरेल लगायतका विभिन्न १२ लेखकहरूले दक्षिण एसियाको प्रतिनिधित्व गर्दैछन ।

suman pokharell abhi subedi pradeshportal.com

सुवेदीले कार्यपत्र तथा कविता प्रस्तुत गर्ने कार्यक्रममा कवि पोखरेलले भने कविता र स्पिचको सेसन रहेको आयोजकले बताएको छ । एसियाका ४४ देशका २६० लेखकहरू उपस्थिति हुने कार्यक्रममा विश्वभरबाट १५ सय साहित्यिक पाहुनाहरू उपस्थिति हुने आयोजकले आफ्नो आधिकारिक वेबसाइट एसियन लिट फोरम डट केजेड्मा उल्लेख गरेको छ ।

काजकिस्तान लेखक सङ्घको ८५ औँ बर्षगाँठको अवसरमा कार्यक्रमको आयोजना भएको आयोजकले बताएको छ । कार्यक्रमलाई काजकिस्तानका राष्ट्रपति, काजकिस्तानको संस्कृति तथा खेलकुद मन्त्रालयले सहयोग गरेको आधिकारिक वेबसाइटमा जानकारी गराइएको छ ।

एसियाली लेखक मञ्चको कार्यक्रममा सहभागिता भएपछि एसियाली कला, साहित्य र लेखको बारेमा प्रत्यक्ष जानकारी हुने कवि पोखरेल बताउँछन् । भन्छन्, ‘यस्तो महादेशिय साहित्य मेलाले एसियाली साहित्य र साहित्यकारको प्रत्यक्ष अनुभवसँगै यस्ता इभेन्ट नेपालमा पनि कसरी गर्ने भन्ने बारेमा अनुभव हुनेछ ।’

abhi subedi and suman pokharell asian literature forum