धरानः धरान ६ स्थित पानवारीमा रहेको शिक्षा सन्देश बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वय मौसम पराजुली र संगीता रम्तेल ‘स्टुडेन्ट अफ द इयर’ घोषित भए । उनीहरुलाई कार्यक्रममा प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुको पठन–पाठन, अतिरिक्त क्रियाकलाप क्रियाशिलतामा, नम्र, इमान्दार र विद्यालयमा रेगुलर भएको आधारमा स्टुडेन्ट अफ द इयर घोषित गरिएको हो ।
स्कुलमा ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०६६ सालदेखि एसईईमा सहभागीता जनाएको विद्यालय धरानका उत्कृष्ट विद्यालयहरुमा गनिन्छ । शिक्षा सन्देशमा अध्ययन गरेका विद्यार्थीहरु बैंकिङ, निजामती तथा शैक्षिक क्षेत्रमा राम्ररी स्थापित भइरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रमेश बस्नेतले बताए । उनका अनुसार गाँउमा रहेर पनि विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको र धरानका स्थापित विद्यालयले ल्याउने जस्तै नतिजा ल्याइरहेको छ ।
विद्यालयले गुणस्तरीय शिक्षाको साथै समयानुकुल शिक्षा दिन अभियानमा लागेको विद्यालयका प्रिन्सिपल पौडेलले बताए । उनले भने, पछिल्लो समय देशभरीकै विद्यार्थीहरुमा अनुशासनको कमी देखिदै गएको छ, विद्यालयले त्यसको सुधारका लागी समेत पाइला चालिसकेको छ ।’ उनले विद्यालयले अनुशासन, सँस्कृति र गुणस्तरीय शिक्षालाई नारा बनाएर अघि बढिएको बताए । उनले अहिलेको समयमा विद्यार्थीलाई किताबी ज्ञानको साथै सिप र प्रविधि समेत उत्तिकै महत्वपूर्ण भएको बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै गीत समेत गाएका थिए । वार्षिकोत्सव कार्यक्रममा प्याब्सनका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न विषयमा प्रदर्शनी समेत गरेका थिए ।