इटहरीः कोरोना संक्रमणका कारण धरान र बुटवलमा २ महिला सहित ३ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइकी विराटनगरकी कोरोना संक्रमित ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उता नवलपरासी प्रतापपुर गाउँपालिका २ की ३७ वर्षीया महिलाको शनिबा बिहान र बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो ।

महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा। सापकोटाले बताए । स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो । डा. सापकोटाले मृतकको शवको व्यवस्थापन नियम अनुसार गरिने जानकारी दिए । हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालका  सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवलका ती पुरुष १५ भदौमा अस्पताल भर्ना भएका थिए । त्यस्तै, नवलपरासीकी महिला १७ भदौदेखि भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार दुवैमा ज्वरो र श्वासप्रश्वास र्भ पनि अन्य दीर्घ रोग भने थिएन । योसहित रूपन्देही कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।