इटहरीः धरान डेरा गरि बस्ने दन्त रोग विशेषज्ञ डा. सन्दीपकुमार साह लागूऔषध सहित हिजो विराटनगरबाट पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)बाट धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भएका उनि पक्राउ परेका हुन् ।
आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी नौ बोतल फेला परेको बताए । साह नेपाल आउन प्रतिबन्ध लगाइएको आईसीपीको बाटो हुँदै जबरजस्ती छिर्ने प्रयास गरेपछि सशस्त्रको फन्दामा परेका हुन्।

लागुऔषधसहित पक्राउ परेका साहलाई बुझाइसकिएका कारण यस घटनाको अनवश्यक अनुसन्धान र कारबाही अघि बढाउने जिम्मा नेपाल प्रहरीको हुने सशस्त्रका एसपी पौडेलले बताए । नीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
उनलाई विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट बुधबार साँझ नियन्त्रणमा लिइएको पौडेलले बताए । पक्राउ परेका साहको साथबाट नेपालस्थित भारतीय राजदूतावासले जारी गरेको म्याद सकिएको परिचयपत्र पनि भेटिएको छ । लागुऔषधसहित पक्राउ परेपछि ३३ वर्षीय डा. साहले भारतबाट लागुऔषध नेपाल भित्राउने धन्दा चलाइरहेको प्रहरीको दावी छ ।

laguausad-photo-2-1170x700
उक्त परिचयपत्रको म्याद गत फेब्रुअरीसम्म मात्रै रहेको सशस्त्रले जनाएको छ । नवीकरण नगरिएको परिचयपत्रमा उनको पद कन्टिन्जेन्सी (आवश्यक परेका बेला बोलाउने) डेन्टल अफिस भनेर खुलाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र स्रोतका अनुसार डा. साहले आफूलाई धरानस्थित भारतीय राजदूतावासको ‘पेन्सन पेइङ अफिस’को कर्मचारीसमेत भएको बताएका छन् ।म्याद सकिएको परिचयपत्र देखाउँदै उनले लागुऔषध बोकेर सहज रुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको सशस्त्र प्रहरी स्रोतको दाबि छ । ‘डाक्टरको भेषमा लागुऔषध ओसार्ने साहको साथमा भारतीय राजदूतावासको म्याद सकिएको परिचयपत्र फेला परेको छ,’ सशस्त्र स्रोतले भन्यो, ‘त्यही परिचयपत्रको बलमा उनलाई लागुऔषध ओसार्न सजिलो भएको देखिन्छ ।’