इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ भने ५४ जना संक्रमित थपिएका छन् । शनिवार मृत्यु हुनेहरु सबै मोरङका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसंगै प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ जना र अन्य १२ जना प्रदेश २ का रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएकोमा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । थप ५४ जनामा मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।
मोरङको विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला र ६पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।
प्रदेशमा शनिबार कोरोनामुक्त भएर १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरि सकिएको छ ।