विराटनगरः धरानलाई लाहुरेहरुको सहर भनिन्छ । हङकङमा चल्ने फेसन तुरुन्त धरानसम्म आइपुग्छ । धरान देशमै कहलिएको फेसनेबल सहर पनि हो । पहाडको फेदमा बसेको धरानलाई कोसी पहाड र तराईका जिल्ला जोड्ने घाँटी पनि मान्ने गरिएको छ ।
एक वर्षअघि डेङ्गुले थलिएको धरान अहिले भने कोरोना संक्रमणको चपेटामा परेको छ । प्रदेश राजधानी विराटनगरपछि संक्रमण तीव्र फेलिएको प्रदेश १ को दोस्रो अर्को ठूलो सहर बन्न पुगेको छ धरान । र, यो समुदायस्तरमै पुगिसकेको उपमहानगको ठहर छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार संक्रमणको दर र फैलावट पछिल्लो दिन समुदायस्तरमै पुगेको पाइएको छ । आँकडा बढ्दै गर्दा आइतबार बिहानसम्म धरानमा संक्रमितको संख्या २७५ छ । पछिल्लो २४ घण्टामा मात्र ७० जना नयाँ संक्रमित थपिएका छन । धरानमा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन ।
उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार शनिबार साँझ मात्र एकैपटक ६४ जनामा संक्रमण देखिएको थियो । उनीहरुमध्ये ६२ जना फुस्रेस्थित आर्मी क्याम्पका हुन् । तिनमा आर्मी परिवारका सदस्यहरु छन। आइतबार बिहान संक्रमण पुष्टि भएकाहरुमा इलाका प्रहरी कार्यालय धरानका थुनुवा छन ।
स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले संक्रमितमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र कार्यरत चिकित्सक, नर्स, कर्मचारी र सफाइसँग सम्बन्धित कर्मचारीसमेत ५० जनाभन्दा बढी रहेको बताए । उनीहरुको संख्या पनि उपमहानगरभित्रै गणना गरिएको छ । बाँकी ८५ जना फुस्रेस्थित आर्मी क्याम्पका छन ।
मेहता भन्छन्, “प्रतिष्ठानका तर धरान घर भएहरुकामा पनि संक्रमण देखिएको छ । भारतबाट आउने भारतीय आर्मीमध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित छन् । ट्राभल हिस्ट्री पत्ता नलागेकाहरु र कतै कुनै संक्रमणको प्रत्यक्ष सम्पर्कमा नआएका धेरैमा संक्रमण देखिएको छ ।” मेहताका अनुसार संक्रमण समुदायस्तरमै पुगिसकेको ठहर गरिए पनि बीपी प्रतिष्ठान धरानका चिकित्सकसहितको समितिले गरेको अध्ययन प्रतिवेदन आउन बाँकी छ ।
“हाम्रो त समुदायमा फैलिएको भन्ने बुझाइ छ । औपचारिक रुपमा प्रतिवेदन आएपछि थप प्रस्ट हुने अनुमान गरिएको छ,” मेहता भन्छन, “अब समुदायमा कुन स्तरमा पुगेको छ भनेर थप परीक्षणहरु गर्न भने बाँकी नै छ ।” मेहताले अहिले धरानमा संक्रमणको ग्राफ बढ्दो क्रममा रहेको सुनाए ।
‘र्यान्डम मास टेस्ट’ पछि झस्कियो धरान
लकडाउन खुकुलो भएसँगै धरानका बजारहरुमा भिड देखिन थालेको छ । मोबाइलदेखि अति आवश्यक पसल पनि खुलेका छन् । कृषि थोक बजारमा पनि राम्रै भिड लाग्ने गर्छ । कतिपय पसलहरुमा दूरी कायम गर्न डोरी लगाइएको छ । कतिमा भने सामान्य नियम पनि पालना भएको देखिँदैन ।
सपिङ गर्न घरको एकजना मात्र निस्किए हुने भए पनि दुई(तीन जनासम्म जाने क्रम पनि धरानमा देखिन थालेको छ । भौतिक दूरी र स्वास्थ्यसँग सम्बन्धित नियमलाई पालना गर्नुपर्ने अवस्था भने देखिएको सरोकारवालाको ठहर छ ।
धरानमा केहीअघि कोरोनाको स्तर पत्ता लगाउन ‘र्यान्डम मास टेस्ट’ गरिएको थियो । त्यसको परिणामले भने धरानलाई झस्काइदियो । कारण थियो कहींकतै नगएका र ट्राभल हिस्ट्री नभएकाहरुमा पनि कोरोना देखियो ।
मास टेस्टिङमा फ्रन्टलाइनरसहित समुदायका मानिसको स्वाब परीक्षण भएको थियो । सरसफाइकर्मी, कपडा पसल, स्वास्थ्यकर्मी, स्थानीय, जनप्रतिनिधिसमेत पाँच सय जनलाई सहभागी गराई गरिएको परीक्षणमा ४० जनामा संक्रमण देखियो । उनीहरुमध्ये धेरैको संक्रमणको स्रोत खुल्न सकेन ।
धरानका मेयर तिलक राई भन्छन, “संक्रमण तीव्र गतिमा फैलिरहेको भन्ने हाम्रो पनि बुझाइ छ । तर, यसलाई समुदायमा भयावह ढंगले फैलन नदिने गरी हामीले काम गरिरहेका छौं । परीक्षणलाई बढाइएको छ ।” धरानमा भारत र अन्य देशबाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने गरिएको मेयर राईले जनाए ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार सुनसरी जिल्लाभर जम्मा ९१२ जनामा संक्रमण देखिएको छ । तीमध्ये २९२ जना निको भई डिस्चार्ज भएका छन । बाह्रखरीबाट