शंकर खत्री
इटहरीः सुनसरीको इटहरीमा पछिल्लो समय दैनिक न्यूनत ७÷८ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । गत चैत्र २८ गतेबाट इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा इटहरी उपमहानगरपालिकाले क्वारेन्टिन र स्वाव संकलन केन्द्रको स्थापना गरेको थियो । हाल क्याम्पसबाट क्वारेन्टिन हटाइएको छ भने स्वाव त्यहीबाट नियमित हुँदै आएको छ ।
चैत्रको २८ मा भारत तथा तेस्रो मुलुकका मानिसहरुलाई क्वारेन्टिनमा राखेर स्वाव संकलन गरि कोरोना परिक्षण गरिएको थियो । त्यसमध्ये कसैको पनि कोरोना संक्रमण पुष्टि भएन । केहि समय अगाडीसम्म ८० देखि ९० जना सम्मको स्वाव संकलन गरि परिक्षण गर्दा मुस्किलले १÷२ जनामा कोरोना संक्रमण हुने गरेको स्वाव संकलन केन्द्रका प्रमुख तथा वरिष्ठ अहेव शिव कुमार झाले जानकारी दिए । ‘पहिला हामीले दैनिक ८० देखि ९० जनाको कोरोना परिक्षण गर्दा १ देखि २ जना सम्मको रिपोर्ट पोजेटिभ आउँदा हामी डराउने अवस्था थियो । तर अहिले दैनिक १ सय २० देखि १ सय ४० जनाको परिक्षण गर्दा कम्तिमा ७÷८ जनाको कोरोना संक्रमण पोजेटिभ आउँछ’, झाले भने । यसरी हेर्दा इटहरीमा कोरोना परिक्षणको दायर बढेसँगै संक्रमित हुने पनि पहिलेको अनुपातमा बढिरहेको झाले बताए ।
हालसम्म इटहरीमा २ सय ७९ जनामा कोरोना पुष्टि भइसकेको छ । अधिकांस संक्रमित होम आइसोलेसनमा नै बसिरहेका छ । झण्डै ५ हजार जनाको पिसिआर परिक्षण गर्दा इटहरीमा संक्रमित हुने २७९ पुगेका हुन् । हाल इटहरीमा संकलन गरिएको सबै स्वाव वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गर्ने गरिएको प्रमुख झाले जानकारी दिए । उनका अनुसार विपि प्रतिष्ठान धरानले ६० जना भन्दा बढिको स्वाव संकलन भए मात्रै आफूँलाई पठाउन त्यो भन्दा कम भए कोशी अञ्चल अस्पताल विराटनगर पठाउन निर्देशन गरेको र पछिल्लो समय इटहरीमा दैनिक १ सय भन्दा बढिको स्वाव संकलन हुने हुँदै सबैको परिक्षण धरानमा हुँदै आएको छ ।