धरानः धरानको भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जना श्रमिक आज रिहा भएका छन् । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा सो सामुदायिक वन उपभोक्ता समूहको काँचा सखुवाको रुख कटान गरिएको थियो । पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको हो ।
सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो ।वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
वन ऐन अनुसारनै वडाअध्यक्षको रोहवरमा छाडिएको सव डिभिजन वन कार्यालयका प्रमुख राजेन्द्र यादवले बताए । उनले भने, अहिले कोरोना संक्रमणको कारण पनि थुनामा राख्न समस्या हुने भएकाले वडाअध्यक्षको जिम्मा लगाएर पठाएका छौं, हाजिर गराउन नसके वडाअध्यक्षनै सजायको भागिदार हुनेछन् ।’ थप अनुसन्धान गर्नु पर्ने भएकाले अहिले नै प्रारम्भिक अनुमान गर्न नसकिने उनले बताए ।
रुख प्रकरणमा वन समुहका अध्यक्ष बुद्धि तामाङले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा रुख काट्न गएका ४ जना सहितको नाममा वन कार्यालयमा उजुरी दिएका थिए । छाडिएका ४ जना मध्ये शेर बहादुर तामाङ र काले भनिने गजेन्द्र लिम्बुले रुख काट्न गएको स्वीकारेका खुलेको छ । बाँकी दुई जनाले चै घटना अस्वीकार गरेका छन् । पक्राउ परेका चारै जनाको बयान लिइसकेको छ ।