शंकर खत्री
इटहरीः चैत ११ गतेबाट लामो समयसम्म लागेको लकडाउन र त्यसपछिको निषेधाज्ञाले सम्पुर्ण क्षेत्र प्रभावित बनेको छ । त्यहि कुरालाई मध्यनजर गरेर केहि जिल्लाहरुले निषेधाज्ञा खुकुलो पारेका छन् । सुनसरीमा पनि व्यापार व्यवसाय विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने गरि निषेधाज्ञालाई परिमार्जन गरिएको छ । निषेधाज्ञा खुकुलो भएपछि इटहरीमा चहलपहल बढेको छ ।

दशैँ, तिहार, छैठ र ल्होसार जस्ता चाड आउन लागेकाले आवश्यक सामान खरिद गर्नेको घुईँचो लाग्न थालेको हो । चहलपहल बढेसँगै कोरोना फैलने जोखिम पनि उतिकै बढेको छ । दैनिक कम्तिमा ७/८ जनामा कोरोना देखिने गरेको इटहरीमा निषेधाज्ञाले थप कोरोना संक्रमण फैलन डर भएको छ ।

प्राय पसलहरुमा सेनिटाइजरको व्यावस्था गरेको पाईँदैन । ग्राहकहरुले पनि स्वास्थ्य सुरक्षा नअपनाइ सामान खरिद गर्ने गरेकाले थप जोखिम बढ्ने सम्भावन रहेको छ । दशैँ आउनै लागेकाले बजार नआइ नहुने भएर सामान खरिद गर्न आएको सिमा बस्नेतले बताइन् । ‘अब दशैँ आउनै लाग्यो परिवारका लागि आवश्यक सामाग्री खरिद गर्न बजार आउनै पर्ने अवस्था छ । कोरोनाको डरसँगै सामान नपाउने खतरा छ’, बस्नेतले बताइन् ।

उनि जस्तै इटहरीमा सयौँको संख्यामा सामान किन्ने ग्राहकको चहलपहल इटहरीमा पाइन्छ । अधिकांसमा कोरोनाको डर भन्दा पनि सामान नपाइने हो की भन्ने डर बढी देखिन्छ । एउटा सामान किन्न धेरै पसल र सामान छान्ने ग्रहकको बानी हुन्छ । पसलहरुले एउटा ग्राहकले छोएको सामानलाई सेनिटाइज पनि गर्दैनन् । यस्तो अवस्थामा कोरोना फैलने उच्च जोखिम हुन्छ ।