इटहरीः लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको आन्तराष्ट्रिय संस्था किवानिस् इन्टरनेसनलको सुनसरी शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार इटहरीको सेन्ट्रल प्लाजा अगाडि गरिएको रक्तदानबाट ५१ पिन्ट रगत संकलन गरिएको क्लवका इटहरी अध्यक्ष किरण पराजुलीले जानकारी दिए ।
कोरोना महामारीले अस्पतालहरुमा रगत अभाव भएकाले रक्तदान गरिएको उनले बताए । ‘विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रगत अभाव भएको र रक्तदान गर्न अनुरोध गरेपछि रक्तदान गरेका हौँ । हामीले आयोजना गरेको रक्तदानमा ५१ जनाले सहभागिता जनाउनु भएको छ’, पराजुलीले भने ।
पराजुलीका अनुसार महामारीको समय भएकाले उच्च स्वास्थ्य सुरक्षा र समामाजिक दुरी कायम गरि रक्तदान गरिएको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीका अध्यक्ष विमल पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो ।