इटहरीः मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामाथि बाँसको भाटा प्रयोग गरेर अस्थायी पुलको विषयमा विवाद हुँदा एकजनाको हत्या गरेर फरार भएका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई सुनसरीको बराह क्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई घटना भएको १८ दिन पछि सोमवार जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले नियन्त्रणमा लिएको हो ।

फुपूको घरमा लुकेर बसेको अवस्थामा सरदारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सरदारलाई पक्राउ गररे घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिए ।

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु र परिवारका तीन जना घाइते भएको मोरङ प्रहरीले जानकारी दिएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यही दिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । उनिहरु हाल उपचारपछि निको भएर घर फर्किएका छन् ।

मृतक चन्द्रकुमार र घाइते समुन्द्र सइकुमारका भाइ र गौरव छोरा हुन् । मृतक चन्द्रकुमारलाई सरदारले नै बन्चरो प्रहार गरेको प्रहरीले बताइएको छ ।