इटहरीः सुनसरीको बराहक्षेत्रको चतरा धाममा रहेको अइसोलेसन कक्षबाट सामान चोरी भएको छ । आइसोलेसनमा संक्रमितको लागि राखिएका सामान चोरी भएको हो । चोरी गरिएका सामान अरु कसैले नभएर संक्रमितले नै लगेको खुलेको छ । एक सय बेड क्षमताको आइसोलेसनबाट इलेक्ट्रीक जगदेखि चप्पलसम्म चारी भएको छ ।

भदौ १ गते कोरोना मुक्त भएर घर फर्कीनेहरुले चोरी गरेका हुन् । उनिहरु घर फर्केपछि संक्रमित बसेको कोठा स्यानिटाइज गर्ने क्रममा समान चोरी भएको भेटीएको स्वास्थ्यकर्मीले जनाकारी दिएका छन् । सङ्क्रमितहरूले सेन्टरको एक लाख भन्दा बढी मूल्यको सामान चोरी गरी लगेको आइसोलेसन सेन्टरका इन्चार्ज प्रमोद यादवले बताए । आइसोलेसनबाट पछिल्लो समय भदौ १६, २४ र असोज १ गते संक्रमित निको भएर घर फर्किएका थिए । ती मध्ये १ गते निको भएर घर फर्कीनेले सामान चोरी गरेको यादवले दाबी गरे ।

सेन्टरमा रहेको ४७ वटा ज्वरो नाप्ने थर्मामिटर, २३ वटा तातो पानी तताउन प्रयोग हुने इलेक्ट्रीक जग, ३५ वटा कम्बल, ३५ वटा झुल, १२ वटा सिरानीको खोल, ८६ वटा तन्ना, २१ वटा मल्टीप्लक र १०० जोर चप्पल चोरी भएको आइसोलेसनका इन्र्चाज यादवले बताए ।

‘पाँच जना मात्र सङ्क्रमित रहेको अवस्थामा शनिवार कोठा सफा गर्ने क्रममा स्वास्थ्यकर्मीको टोलीले सामान खोजी गर्दा नभेटेको हो । कोठामा नभेटिएका सामान संक्रमितहरुलेनै लानु भएको रहेछ’, उनले भने । सामान चोरी भएको विषयमा बराहक्षेत्र नगरपालिकालाई जानकारी समेत गराइसकेको यादवले बताए । ‘यो अत्यन्त लज्जास्पद काम हो । यसमा सुरक्षाकर्मीदेखि उघोगका मजदुर जो सङ्क्रमित भएर यहाँ बस्नु भयो, वहाँहरूकै संलग्नता छ ।’ नगरपालिकाले प्रहरी प्रशासनलाई जानकारी गराइ घटनाको छानबिन गरिनुपर्छ’, यादवले भने ।

असोज १ गते डिस्चार्ज हुनेहरूमा नेपाल प्रहरीका ४१, सशस्त्र प्रहरीका १२ र प्रगति टेक्स्ट टायलका १४ जना रहेका छन् । यस्तै सामान चोरीसँगै आइसोलेसन सेन्टरका धारा तथा शौचालय तोडफोड भएको समेत बताइएको छ । साथै शौचालय भित्र सिरानी हाल्दिनुको साथै धाराको पाइप काट्ने जस्ता कार्य भएको बताइएको छ ।

यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले सामान चोरी भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताउँदै घटनामा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । ‘प्रहरी र हाम्रो स्वास्थ्यकर्मीको टोलीले भदौ २४ र असोज १ गते डिस्चार्ज भएकाहरूको विवरण निकाल्दै छौ’ खनालले भने ‘यसमा संलग्न जो कोहीलाई भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याउनेछौ’, उनले भने ।