इटहरीः प्रदेश १ सरकारले कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा सचेतना कार्यक्रम ल्याउने तयारी गरेको छ ।
कार्यक्रम अन्तर्गत झापा, मोरङ र सुनसरीमा घरदैलो अभियानमार्फत जनतालाई २१ दिनसम्म घरमै बस्न आह्वान गर्ने र दुई ओटा साबुन,सेनिटाइजर, मास्क र जनचेतनामूलक पोस्टर वितरण गर्न मुख्यमन्त्री शेरधन राईले कार्यविधि स्वीकृत गरेका छन् ।
क्रमश प्रदेशका १४ ओटै जिल्लामासञ्चालन हुने अभियानका क्रममा दैनिक दुई सय रुपियाँ खाजा भत्ता दिएर शिक्षक प्रयोग गरिने भएको छ ।
अभियानको लागि दुई करोड ८५ लाख खर्च हुने प्रदेश सरकारको अनुमान छ । सामाजिक विकास मन्त्रालयले पेस गरेको खर्चको प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत गरेको छ ।
लकडाउन सकिएको ६ महिनाभन्दा बढी समयपछि सचेतना अभियान सुरु गरेको भन्दै आलोचना भइरहेका बेला सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले ढिलै भए पनि अभियान सुरु हुनु राम्रो रहेको भन्दै बचाउ गरेका छन् ।