इटहरीः मोरङको ग्रामथान गाउँपालिका – ४ मा पोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका – ४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीया आमा सीता अधिकारी, उनकी छोरीहरु १३ वर्षीया पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए । दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पसेकी थिइन् । घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्दार गर्न पोखरीमा पसेको देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।

प्रहरी निरिक्षक ढकालका अनुसार सीताका श्रीमान नौं वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् ।

माइतमा घर नजिकै खेतमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । दिउँसो पोखरीमा चारो हाल्न सीतासँगै छोरी पनि गएका थिए । गर्मीमा पौडी खेल्न भन्दै कान्छी छोरी पोखरीमा पसेको र उनकालाई निकाल्न भन्दै जेठी छोरी पोखरीमा पसेको वडा अध्यक्ष बैजनाथ विश्वासले बताए । २ छोरी नै डुबेपछि माछालाई चारो हाल्न गएकी सीता पनि पोखरीमा पसेकी थिइन ।

दिउँसो घरबाट निस्किएकी सीता र २ छोरी साँझमा पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा साँझ करिब ६ बजे पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले राति ८ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा पठाएको प्रहरी निरिक्षक ढकालले बताए । शवको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको देखिन्छ । कान्छी छोरीले कपडा लगाएको छैन्, १३ वर्षीय छोरीले भित्री बस्त्र लगाएको अवस्थामा र आमाको शव कपडा लगाएको अवस्थामा भेटिएको प्रहरी निरिक्षक ढकालले जानकारी दिए । एकै परिवारका तीनजनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय बेलबारीले आवश्यक अनुसन्धान थालेको प्रनि ढकालले बताएका छन् ।