इटहरीः स्थायी घर काठमाडौ भई हाल क्यानडा बस्ने निलम खनालले बेलबारीकी एक बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग गरेकी छन् ।बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीको फेसबुक वाल अर्थात सामाजिक संजालमा १२ बर्षको उमेरमा तीन जना पुरुषबाट बेलबारीकी एक बालिका बलात्कृत भन्ने प्रसङ्गको पोस्ट देखेपछि आफू विक्षिप्त बनेको र उपमेयरसँग उनको आर्थिक अवस्था बुझ्दा अत्यन्तै दयनीय भन्ने थाहा पाएपछि केही सहयोग गर्न सोच भएको निगमले बताइन् ।

विदेशी भूमिमा रहेर नेपालका हिंसापीडितहरुको लागि निरन्तर सहयोग गर्दै आएकी सामाजिक अभियन्तासमेत रहेकी निगम लामो समयदेखि हिंसा पीडित महिलाहरुको पक्षमा काम गर्दै आएकी छिन् ।
केही दिन अघिमात्र खनालले बेलबारीकैअर्की एक हिंसा पीडित बालिकालाई समेत सहयोग रकम उपलब्ध गराएकी छिन् । घटना सुन्ने बित्तिकै केही सहयोग गरौँ भन्ने लागेको भएपनि कुन माध्यमबाट कसरी सहयोग पठाउने भनेर आफूले केही साथीहरुलाई सामाजिक संजाल मार्फत नै पीडितको सम्पर्क लिने प्रयास गरेको तर सफल नभएपछि बेलबारी नगरपालिकाकी उपमेयरलाई सम्पर्क गरि आफूले प्रदान गर्न लागेको रकम उहाँलाई नै पठाएँ।पीडित परिवारलाई केही समयको लागि हांतमुख जोर्ने समस्या भनेर सानो सहयोग गरेकी हुं-खनालले भनिन् ।

उनले आफूले पठाएको रकम पीडितको घरमै पुगेर हस्तान्तरण गरेकोमा उपमेयरलाई धन्यवाद प्रदान गरिन् । पीडित परिवारले निगमलाई आफूहरुलाई जटिल परिस्थितिमा यति ठूलो सहयोग गरेकोमा उपमेयर मार्फत पटक पटक धन्यवाद भनिदिन अनुरोध गरेका छन् ।साथै उनीहरुले सम्पूर्ण समन्वय मिलाउने उपमेयरलाई पनि धन्यवाद दिएका छन् ।