इटहरीः प्रदेश १ मा कोरोना संक्रमण परीक्षणका लागि किट अभाव हुन थालेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगरका प्रमुख जयवेन्द्र यादवका अनुसार प्रयोगशालासहित विराटनगरको कोसी अस्पताल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेचि अस्पताल र कन्काई पीसीआर प्रयोगशालामा हुँदै आएको परीक्षण किट अभावमा रोकिने अवस्थामा पुगेको छ ।

मेचि अस्पताल र बीपी प्रतिष्ठानलाई सोमबार तीन सयका दरले किट दिएको ल्याबमा अब करिब दुई हजार पाँच सय किट मात्र बा्ँकी रहेको छ, जसले तीन दिनको माग पूरा गर्न पनि मुस्किल छ । प्रदेशका ल्याबको क्षमता तीन हजार नौ सय ५० रहेपनि परीक्षण दैनिक एक हजार पाँच सय मात्र हुँदा सेवाग्राहीले रिपोर्टका लागि पाँच दिन पर्खनु परेको छ । नौ सय जना सम्मको क्षमता रहेको बीपी प्रतिष्ठानमा क्षमता अनुसार परीक्षण भएको छैन भने विराटनगरमा महानगरपालिकाले दिएको पीसीआर मेसिन प्रयोगमा आउन सकेको छैन । असोज १ गतेदेखि ५ गतेसम्म प्रदेशभर चार हजार चार सय ८१ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । मन््त्रालयका अनुसार प्रदेशभर हालसम्म एक लाख १६ हजार पाँच सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच हजार ६ सय ९३ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये दुई हजार पाँच सय ५२ जना निको भएका छन् भने प्रदेश बाहिरका १२ जना र प्रदेशभित्रका ४० जना गरी ५२ जनाको मृत्यु भएको छ ।