इटहरीः मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा बाबुराम तिमल्सिना कोरोना सङ्क्रमित भएका छन् ।

संक्रमित भएलगत्तै उनी विराटनगर–१२ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन् ।

भदौ अन्तिम साता सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख डा सुशील अधिकारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका तिमल्सिनाले विराटनगर महानगरपालिकाले सञ्चालन गरेको केन्द्रमा स्वाब परीक्षणका गराएका थिए ।

सहायक प्रमुख डा अधिकारी हाल टंकिसिनुवारीस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा रहेका छन् ।

क्याम्पसले प्रमुख र सहायक प्रमुखसँग सम्पर्कमा आएकाहरुको स्वाव परीक्षणका लागि महानगरपालिकासँग समन्वय गरेको छ ।

क्याम्पस प्रमुख र सहायक प्रमुखलाई कोरोना पुष्टी भएपछि मोरङ क्याम्पस आइतबारसम्मको लागि सील गरिएकाले प्रशासनिक काम ठप्प भएको छ । यद्यपि अनलाइन कक्षालाई भने निरन्तरता दिने क्याम्पसले जनाएको छ ।