इटहरीः सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका खरिद शाखा प्रमुख विष्णु चापागाईको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको निर्देशनमा सरुवा भएको छ । खरिद शाखाबाट उनलाई चार महिना नपुग्दै उपकुलपति गिरीले एकलौटी निर्णय गरी शैक्षिक प्रशासन शाखामा पठाएका हुन् । चापागाइँका कारण खरिद प्रकृयामा अनियमितता गर्न नपाएपछि अन्य पदाधिकारीसँग कुनै छलफल नगरी उपकुलपति गिरीले उनलाई हिजो मंगलबार सवाको पत्र थमाएका हुन् । स्रोतका अनुसार उपकुलपति गिरीले स्थानीय व्यापारी चेतन अग्रवालसँग मिलेर अनियमितता गर्न नपाएपछि दुई वर्षमा रजिष्ट्रारको सिफारिसमा सरुवा गर्नुपर्ने व्यवस्थाविपरीत चापागाइँलाई हटाएका हुन् । चापागाइँको ठाउँमा आफूअनुकूल हुनेगरी गिरीले शैक्षिक प्रशासनका अशोक साहलाई ल्याएका छन् । यद्यपी, प्रतिष्ठानले साहलाई शैक्षिक शाखामा सरुवा गरिएको जिकीर गरेको छ । बिनाजानकारी सरुवा गरेको भन्दै चापागाइँले आश्चर्य व्यक्त गरेका छन् । रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले सरुवाको निर्णयबारे अनभिज्ञता जनाएका छन् । अस्पतालका निर्देशक प्रा.डा.गौरीशंकर अग्रवाललाई पनि सरुवाबारे जानकारी छैन । नियम मिचेर खरिद गरिएका सामानको हिसाब मिलाउन असहयोग गरेपछि चापागाइँको सरुवा गरिएको स्रोतको भनाइ छ ।