इटहरीः मोरङको विराटनगरस्थित औषधि व्यवस्था विभागले ग्राहकको सेवाका लागि कार्यालयमा आज बुधबार हेल्प डेस्क स्थापना गरेको छ । मोरङ, झापा र सुनसरीका औषधि व्यवसायी संघको संयुक्त प्रयासमा स्थापना भएको हेल्प डेस्क औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले उद्घाटन गरेका थिए । उद्घाटनपछि उनले हेल्प डेस्कबाट सेवाग्राही लाभान्वित हुने विचार व्यक्त गरे । यसअघि संघकै कोसी अञ्चल शाखाले सञ्चालन गरेको हेल्प डेस्क लकडाउनपछि बन्द भएकोमा तीन जिल्ला शाखाको समन्वयमा एक प्राविधिक सहितको डेस्क स्थापना गरिएको नेपाल औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । व्यवसायीहरूको अनलाइन फर्म तथा पसलको नवीकरण र नयाँ पसल दर्ताको प्रक्रियामा डेस्क सहायक हुने संघको विश्वास छ । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, झापा अध्यक्ष गौतम गुप्ता, सुनसरीको अध्यक्ष रबिन्द्र घिमिरे, कोशी अञ्चलका पूर्व अध्यक्ष तथा मोरङका सल्लकार लक्ष्मण माझी र तीन जिल्लाका पदाधिकारी र व्यवसायहीहरूको सहभागिता रहेको थियो ।